Comments Add Comment

शीतलनिवासबाट खुमलटारतिर प्रधानमन्त्री ओलीको ‘यू टर्न’ 

सबै विकल्पहरु सकिएपछि प्रचण्डसँग हातेमालोको प्रयास

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाएक ‘यु टर्न’ भएका छन् । पछिल्लो साता निरन्तर राष्ट्रपति कार्यालय शीतलनिवासतिर धाउँदै आएका प्रधानमन्त्री ओली शनिबार बिहान एकाएक प्रचण्डनिवास खुमलटार पुगे ।

खुमलबाटारबाट निस्किएपछि प्रधानमन्त्री ओलीले पुल्चोकस्थित मन्त्रिनिवासमा गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि केहीबेर भेट गरेका थिए । बालुवाटार फर्किँदा बाटामा परेको हुनाले प्रधानमन्त्री ओली बादलको निवासमा पसेको स्रोतले बतायो ।

प्रचण्डले सचिवालयमा दर्ता गरेको र हाल स्थायी कमिटीमा पुगेको लाञ्छनापत्र फिर्ता नहुँदासम्म बैठकमा समेत सहभागी नहुने बताउँदै आएका प्रधानमन्त्री ओलीले यसरी प्रचण्डको निवासमै पुगेर सम्वादको थालनी गर्नुलाई उनको सकारात्मक कदम मान्नुपर्ने नेकपा नेताहरु बताउँछन् । तर, पार्टीभित्र चर्किएको पत्रयुद्धपछि प्रचण्डले आफूमाथि फौजदारी आरोप लगाएको र आत्मालोचना मात्र गरेर नपुग्ने बताउँदै आएका प्रधानमन्त्री ओली एकाएक प्रचण्डप्रति नरम देखिनुका पछाडि केही राजनीतिक परिघटना कारकका रुपमा देखिएका छन् ।

प्रचण्डको प्रस्ताव फिर्ता नभई बैठकमा सहभागी नहुने बताएका प्रधानमन्त्री ओली शनिबार नेताहरुको निवासमा किन गए ? यसबारे चर्चा गर्नुभन्दा पहिले शनिबार बिहान खुमलटारमा भएको भेटबारे चर्चा गरौं ।

प्रधानमन्त्री ओलीसँगको छलफलबारे प्रचण्डको सचिवालयले खासै केही बताउन मानेको छैन । खुमलटार स्रोतले भन्यो, ‘यो बालुवाटारमा हुँदै आएको छलफलकै निरन्तरता मात्र हो । आज पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो, प्रचण्डले बैठकमा पेश भइसकेकाले जे गर्ने हो, बैठकबाटै गरौं भन्नुभयो ।’

प्रचण्डलाई भेट्न पुगेका प्रधानमन्त्री ओली केही पनि नखाई फर्किए । चिकित्सकको सल्लाहअनुसार बाहिर केही नखानू भनेको हुनाले पानीसमेत आफैंले बोकेर ल्याएको प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री ओली ११ बजेर केही मिनेटमा खुमलटार पुगेका थिए भने त्यसको १५ मिनेटपछि उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । तीन नेतावीच करिब एक घण्टा कुराकानी भएको थियो ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डवीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई नजिक ल्याउने प्रयासस्वरुप भनेका थिए, ‘भोलि बिहान म तपाईकै निवास (खुमलटार) मा आउँछु ।’ अन्ततः त्यही वचनअनुसार शनिबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओली प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।

शीतलनिवासबाट फर्केको भोलिपल्ट खुमलटार

आखिर, पार्टीमा समझदारीबाट अगाडि बढ्नुको साटो शीतलनिवासलाई पनि विावदमा तान्ने गरी अध्यादेश जारी गरेर प्रचण्ड- माधव खेमासँग भिड्ने पक्षमा उभिएका प्रधानमन्त्री ओली एकाएक किन यसरी प्रचण्डनिवास र वादल निवाससम्म पग्नुपर्ने परिस्थितिमा पुगे ?

यसका पछाडि केही परिघटनाहरुलाई स्मरण गर्नुपर्ने हुन्छ ।

संवैधानिक परिषदमा शेरबहादुर देउवासित मिलेर संवैधानिक अंगमा एकलौटी नियुक्तिहरु गर्ने प्रधानमन्त्री ओलीको प्रयास असफल भयो । नियुक्तिमा भागवण्डाका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट आफ्नो उद्देश्य पूरा गर्ने सोचेका थिए । तर, अध्यादेश जारी भएपछि शेरबहादुर देउवा पनि पछि हटे । अध्यादेशको चौतर्फी विरोध भयो र २४ घण्टा नबित्दै प्रधानमन्त्री ओली त्यसलाई फिर्ता लिन स्थायी कमिटीको बैठकमा सहमत भए ।

शेरबहादुर देउवासँग भागवण्डा मिलिसकेको र प्रधानन्यायाधीश पनि बैठकमा आउन बाध्य बनेको परिस्थितिमा प्रधानमन्त्रीले पुनः स्थायी कमिटीको म्यान्डेट विपरीत विहीबार परिषदको बैठक राख्न प्रयास गरे । तर, प्रचण्डले बालुवाटारमा पुगेर आपत्ति जनाएपछि बैठक रोकियो । तथापि अध्यादेश फिर्ता गर्नुअघि राष्ट्रपतिलाई सोध्नुपर्छ भन्दै ओलीले अध्यादेश फिर्ता लिन आनाकानी गरे । विहीबारको क्याबिनेटले अध्यादेश फिर्ता लिएन ।

स्थायी कमिटीको निर्देशनअनुसार संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन नमानिरहेका प्रधानमन्त्री ओलीले शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । तर, सो भेटमा राष्ट्रपतिले प्रचण्डसँग समझदारी बनाउन प्रधानमन्त्री ओलीलाई सुझाइन् ।

उता प्रचण्ड-माधव समूहले अध्यादेश फिर्ता नलिइए त्यसलाई अनुशासनको विषय बनाउने र संसदको विशेष अधिवेशन पुनः माग गर्नेलगायतका कडा कदम चाल्ने निश्कर्ष निकाल्यो । साथै राष्ट्रपतिको भूमिकामाथि पनि सचिवालयका नेताहरुले प्रश्न उठाए । विगतमा राष्ट्रपतिलाई भेटेर तपाईप्रति हामीले प्रश्न उठाएका छैनौं भनेका नेताहरु शीतलनिवाससँग पनि चिढिए । यही क्रममा शुक्रबार पेरिसडाँडामा प्रदेश १ का प्रचण्ड-माधव पक्षका नेताहरुको भेला आयोजना गरियो, जसबाट प्रधानमन्त्री ओली थप झस्किए ।

त्यतिमात्रै होइन, माधव नेपाल र प्रचण्डले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि भेट गरे । प्रधानमन्त्री ओलीले शेरबहादुर देउवाको कार्ड खेलिरहेका बेला रामचन्द्र पौडेलसँगको यो भेटले प्रधानमन्त्री ओलीलाई थप झस्कायो ।

बुधबार स्थायी कमिटीको बैठक बस्नै लागेका बेला ८३ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन माग गरिएको पत्र पुगेपछि संसदीय दलमा आफ्नो बहुमत गुम्न लागेको प्रधानमन्त्री ओलीले चाल पाइसकेका छन् । यसले पनि उनलाई झस्काएको छ ।

भिड्ने विकल्पहरु सकिएपछि….

अध्यादेश फिर्ता लिन नमानिरहेका प्रधानमान्त्री ओलीसँग अझै मुठभेडतर्फ जानका लागि दुईवटा विकल्प बाँकी नै थिए । एउटा- दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउने, त्यसपछि शेरबहादुर देउवासँग मिलेर सरकार बनाउने । वा दोस्रो- संसदीय दलबाट बहुमत गुमाउनुभन्दा बरु ‘न रहे बाँस, न बजे बाँसुरी’ भनेजसरी संसद नै विघटन गरिदिने । यसबाहेक प्रधानमन्त्री ओलीसँग अर्को बाटो थिएन, मुठभेडको राजनीतिका लागि ।

तर, यी दुबै विकल्पमा अघि बढ्नका लागि प्रधानमन्त्री ओलीसँग  अब जोखिम मोल्न सक्ने सामथ्र्य सकिएको छ । किनभने, यस्तो कदममा उनले आफ्नो गुट र शीतलनिवासको समेत साथ पाउने सम्भावना कम हुँदै गएको छ  । र, त्यसपछि उत्पन्न हुने विरोध र आन्दोलनको सामना गर्न सरकारलाई गाह्रो पर्ने विश्लेषण ओली समूहका नेताहरुले गरेका छन् ।

तर, यी दुईवटा कदमहरु चाल्नका लागि प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदको अध्यादेश ल्याउँदाजस्तै गरी राष्ट्रपतिको निरपेक्ष साथ चाहिन्थ्यो । तर, शुत्रबार शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट त्यस्तो कदमका लागि साथ पाउने संकेत देखेनन् । बरु शीतलनिवासले प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर अघि बढ्न र उनलाई प्रधानमन्त्री दिएरै भए पनि पार्टी अध्यक्षमा कायम रहेर पार्टीको नेतृत्व सम्हाल्न सुझाएको सूत्रहरुको भनाइ छ ।

यस्तो स्थितिमा अब प्रचण्डलाई संसदीय दलको नेता बनाउने र निश्चित समयपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने परिस्थितिमा प्रधानमन्त्री ओली आइपुगेको नेकपाको उच्च स्रोतले बतायो ।

तथापि, चतुर राजनीतिज्ञ मानिने प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुटुक्क आफ्नो साथमा ल्याएर माधव नेपालसँगको गठबन्धन टुटाउने र प्रचण्डले आफूमाथि लगाएको आरोपपत्रहरु फिर्ता गराउने प्रयत्न जारी राखेको नेताहरु बताउँछन् । दुबै अध्यक्षका प्रस्ताव फिर्ता लिएर आइतबार बस्ने स्थायी कमिटीको बैठकमा साझा प्रस्ताव लैजाऔं भन्ने माग ओली पक्षका नेताहरुले गर्दै आइरहेका छन् । तर, प्रचण्डले भने एक्लै सहमति नगरी माधव नेपाल लगायतका नेताहरुसँग नि बसेर कमिटीबाटै निर्णय हुनुपर्ने अडान राख्दै आएका छन् ।

शनिबार खुमलटारमा भएको भेटमा पनि प्रधानमन्त्री ओली प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गरेर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment