Comments Add Comment
पोखरामा प्रचण्ड–माधव समर्थित विद्यार्थीको भेलाः :

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर खल्तीमा छ, विचार गर्नुस् !

४ पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरकलह पार्टीसँग भ्रातृ संस्थाहरुमा पनि देखिएको छ । अरु भ्रातृ संस्थाको तुलनामा युवा र विद्यार्थी संगठनमा गुटका भेला धेरै भएको छ ।

पोखरामा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै भेला गर्दै आएका छन् ।

भेलामा एकले अर्को पक्षलाई पार्टी फुटाउन लागेको आरोपमात्र लगाइरहेका छैनन्, मैदानमै उत्रिएर गाली गरिरहेका छन् । शनिबार पृथ्वीनारायण क्याम्पसमा भएको प्रचण्ड–माधव पक्षधर विद्यार्थीहरुको भेलामा पनि नेतृत्वको चर्कै आलोचना भएको छ ।

प्रदेश, जिल्ला तथा विभिन्न क्याम्पसका विद्यार्थी नेता सहभागी भेलामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका सहसंयोजक रञ्जित तामाङ मुख्य वक्ता थिए । शुक्रबार म्याग्दीमा उनलाई ओली पक्षबाट अवरोध भएको प्रचार भएको थियो । त्यसको भोलिपल्ट पोखरामा भएको भेलालाई सम्वोधन गर्दै सहसंयोजक तामाङले संगठनलाई नै बद्नाम गर्ने काम भएको बताए ।

‘अनेरास्ववियुलाई बदनामी गर्ने र संगठनलाई फुटाउनका निम्ति नेतृत्वले देशैभरि वातावरण तयार गर्ने हो भने बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर खल्तीमा बोकेर हिँडेका छौं,’ तामाङल चेतावनीपूर्ण भाषामा भने, ‘जुनसुकै बेला एक्सन लिन तयार छौं । अनेरास्ववियुलाई मण्डले विद्यार्थी संगठन बनाउँन दिँदैनौं ।’

केही दिनअघि अनेरास्ववियुका संयोजक ऐन महरको उपस्थितिमा पोखराकको लिचिबोट पार्टी प्यालेसमा ओली निकट विद्यार्थीहरुको प्रदेशस्तरीय भेला भएको थियो । त्यसतर्फ संकेत गर्दै तामाङले गुटकै भेला गर्ने हो पोखरामा हजारौं विद्यार्थी उतारेर भेला गर्न सक्ने बताए ।

म्याग्दीमा आफू लखेटिएको भनेर प्रचार गरिएको भन्दै तामाङले ब्यग्य गरे, ‘इलाका तेरा, धमका मेरा भनेर कार्यक्रम सकेर फर्किँदै थियौं । म अगाडि गाडीमा कार्यक्रमबाट आउँदै थिएँ, पछाडि कोही मोटरसाइकल रहेछ । त्यहीबाट स्टाटस लेखेछ, मैले रञ्जित तामाङलाई लखेटिरहेको छु ।’

पार्टी र संगठन नेतृत्वको चर्को आलोचना गरेका उनले उनीहरु पार्टी एकताको विपक्षमा रहेका आरोप लगाए । ‘एकताको पक्षमा उभिनुस् । एकता चाहाने भए अध्यादेश ल्याउँदा पार्टीको सहकार्य, सहमति टुट्छ, अन्तसंघर्ष झनै पेचिलो बन्छ भनेर किन नबोलेको ?’ उनले प्रश्न गरे ।
पार्टी, सरकार र विद्यार्थी संगठन सबैतिर यतिबेला ओली पक्षको मन अत्तालिइरहेको भन्दै उनले परिस्थितिको सामाना गर्न र ओली प्रवृतिबाट संगठनलाई बचाउन विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा विद्यार्थी नेता सन्तोष न्यौपानेले अहिले विद्यार्थीले एउटा खल्तीमा अबिर र अर्को खल्तीमा कालो मोसो लिएर हिँडेको बताए । ‘जसले एकतालाई जोड्छ, अबिर लगाउँछौं । जसले टुक्राउन खोज्छ उसका लागि कालोमोसो दल्छौं,’ न्यौपानेले भने, ‘संगठन र एकतालाई जोड्ने कि भाँड्ने आफैं बिचार गर्नुहोस् ।’ अनेरास्ववियु कास्की जिल्ला सह–संयोजक वसन्त भट्टचनले एकता विरोधी तत्वसँग आफूहरु एकढिक्का भई प्रतिरोधमा उत्रने बताए ।

ओलीलाई सञ्चो छैन, दुबै पदबाट राजीनामा दिनुपर्छ

पूर्व माओवादी पृष्ठभूमिका विद्यार्थी नेता तामाङ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि निकै खनिएका छन् । सरकार र पार्टीको समेत नेतृत्व गरिरहेका ओलीलाई सञ्चो नभएको उनले भने, ‘कहिले सचिवालय भनेको भेडाहरुको गोठ भन्नुहुन्छ, कहिले कुन समितिलाई के भन्नुहुन्छ । आफ्नै कमिटीलाई भनेको र चयन गरेका शब्द सुन्दा पनि लाग्छ, उहाँलाई केही न केही सञ्चो छैन ।’

पार्टीमा अध्यक्ष एवं प्रधानमन्त्री ओली अल्पमतमा परिसकेकाले दुबै पद छाड्नुपर्ने समेत उनले बताएका छन् । कहिले बामदेवको कार्ड फालेको भएको भन्दै उनले जुनसुकै कार्ड खेले पनि काम नलाग्ने बताए ।

प्रधानमन्त्रीको विपक्षमा ११० सांसद रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याए ८३ जनाको हस्ताक्षर कुनै पनि बेला शीतलनिवास पुग्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment