Comments Add Comment

पूर्वी अफगानिस्तानमा विष्फोटमा परी १५ बालबालिकाको मृत्यु

५ पुस, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त घान्जीमा शनिबार भएको शक्तिशाली विष्फोटमा परी १५ बालबालिकाको मृत्यु भएको छ । बीबीसीका अनुसार प्रहरी र अधिकारीहरुले दिएको जानकारीअनुसार उक्त घटनामा परी थप २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यो विष्फोटको कारण भने स्पष्ट भइसकेको छैन तर अधिकारीहरुले भने रिक्सापछाडि राखिएको बम विष्फोट भएको अधिकारीहरुले बताएका छन् । पछिल्लो केही समययता अफगानिस्तानमा निरन्तर हिंसात्मक घटनाहरु बढिरहेका छन् ।

शनिबार मोटरबाट चल्ने रिक्सामा केही सामग्री बोकेर एक व्यक्ति गिलान जिल्लाको एक गाउँमा गएका थिए । उनले आफ्नो सामग्रीहरु बेच्न थालेसँगै बालबालिकाहरु उनको वरिपरि झुम्मिएका थिए । सोही क्रममा भएको विष्फोटमा परी बालबालिकाहरुको मृत्यु भएको हो । तालिबानले पनि यो योजनाबद्ध घटना नभएको बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तान प्रहरी प्रवक्ताले यो घटना तालिबानले गराएको आरोप लगाएका छन् । अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता जारी रहेको भए पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरु भने रोकिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment