Comments Add Comment

ताजा जनादेश मेरो रहर होइन : प्रधानमन्त्री ओली

फोटो : प्रधानमन्त्रीको सचिवालय

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । सरकारका हरेक काममा अवरोध भएपछि भारी मनका साथ ताजा जनादेशमा जाने निर्णय लिएको उनले बताएका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरूलाई बालुवाटारमा बोलाएर ओलीले भने, ‘संसद् विघटन मेरो निजी रोजाइ होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नुपर्‍यो ।’

जनमतबाट निर्णय लिने आफ्नो कदमलाई निरंकुश भनेर कृतिम प्रचार गरिएको उनले बताए । ‘अप्ठ्यारोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले भने, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध भएपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’

पार्टीका एकथरी नेताहरूले पार्टीलाई जनादेश बिर्सिएर सधैं सरकारका काममा अवरोध मात्रै गरेको उनको आरोप छ । विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतका नेताहरू सरकारका काममा अवरोध गरी बिग्रहको बाटोमा अग्रसर भएको उनको आरोप छ ।

‘हामी एकताका एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तव्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरू एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गर्दै पछाडि फर्कन नसक्ने गरी समीकरणका आधारमा पार्टीमा बिग्रह, बेमेलको वातावरण निर्माण गर्न अग्रसर हुनुभयो ।’

सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा व्यक्तिगत स्वार्थ तेस्र्याएर अवरोध गरिएको उनको आरोप छ । ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न राजी हुनु भएन, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थमा घेरिनुपर्‍यो’ प्रधानमन्त्री ओलीले भने, ‘जस्तोसुकै दुस्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’

सभामुखले पनि अपराह्न साढे ३ बजे आएको अविश्वासको प्रस्तावलाई बिहान साढे १० बजेको समयमा दर्ता गरेर कीर्ते काम गरेको उनको आरोप छ । पार्टीको पहिलो अध्यक्ष र संसदीय दलको नेता आफू भएको भन्दै उनले अरूले बैठक बोलाउन नमिल्ने बताए ।

उपाध्यक्षभन्दा मन दुखाउँलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको भन्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अहिले ६० प्रतिशत भएको एमालेको अध्यक्षलाई कारबाही गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा जग हँसाउने प्रहसन गर्दै हुनुहुन्छ ।’ ओलीले मध्यावधि चुनावका लागि आफ्नो क्षेत्रमा तयारी गर्न सांसदहरूलाई निर्देशन पनि दिएका छन् ।

पार्टी एकीकृत रूपमा कि फुटेर चुनावमा जान्छ भन्ने उनले खुलाएनन् । तर भेलामा सहभागी सांसदहरूले प्रधानमन्त्री एवं अध्यक्ष ओली आफैंले पार्टी नफुटाउने दाबी गरे । सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भने, ‘उहाँले म पहिला हात हाल्दिनँ, मलाई हात हालियो भने भाँचिदिन्छु भन्दै आउनुभएको छ ।’

उनका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सोमबार नै बोलाएको संसदीय दल र भोलि बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्षका नेताहरू सहभागी हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment