Comments Add Comment

पार्टी फुटको साक्षी बन्न कुनै पनि भेलामा जान्न : वामदेव

६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै गौतमले गुट भेलामा नजाने बताएका हुन् ।

गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस् – ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ ।’

गौतमले आफू दुई कम्युनिष्ट पार्टी एकीकरण गराउने मध्येको नेता भएको उल्लेख गर्दै भनेका छन्, ‘अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।’

पढ्नुस् विज्ञप्ति

मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन ।

त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’

तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुनेँ । त्यसपछि त्यो दुःखद् घटना हो भन्ने निश्कर्षमा पुगेँ । त्यसपछि संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ ।

अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ ।

फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।

क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment