११ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीलाई विभिन्न १२ समूहमा विभाजन गरी तिनीहरूको सूचक गणना हुने गरेको छ ।
यी १२ समूहगत सूचकमध्ये १९ वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने बैंकिङ सूचक यतिबेला २ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । १२ समूहगत सूचकमध्ये सबैभन्दा राम्रो प्रदर्शन बैंकिङ समूहले नै गरेको छ ।
यो समूहको सूचक १५८२ अंकमा रहेको छ । जुन अंक २ वर्षयताकै उच्च हो । २०८० कात्तिक ४ गते बैंकिङ सूचक १५९० अंकमा रहेको थियो, त्यसयताको उच्चतम अंक बुधबार कायम भएको छ ।
बैंकिङ समूह विगत दुई महिनादेखि उच्च दरले बढेको छ । भदौ १० गते १४२६ अंकमा रहेको यो सूचक दुई महिनामै १०.९३ प्रतिशत बढेको छ । यही अवधिमा नेप्से परिसूचक जम्मा ४.१४ प्रतिशत बढेको छ ।
दुई महिनामा बैंकिङ समूह १० प्रतिशत बढे पनि कुनै बैंकको मूल्य २५ प्रतिशतसम्म बढेको छ । त्यति मात्रै होइन, लाभांश घोषणा गरिसकेका बैंकको लाभांश पनि पाकिसकेको छ ।
सिद्धार्थको २० प्रतिशत (१० नगद र १० बोनस सेयर), एभरेस्टको १५ प्रतिशत (१० नगद र ५ बोनस), नबिलको १५.८ (१०.८ नगद र ५ बोनस), सानिमाको १० प्रतिशत नगद, ग्लोबल आईएमईको १० प्रतिशत (६ नगद र ४ बोनस), माछापुच्छ्रेको ६ प्रतिशत (३ नगद, ३ बोनस), सिटिजन्सको ३.८ प्रतिशत सेयर बोनस, कुमारीको २.१० नगद लाभांश लगानीकर्ताले पाइसकेका छन् ।
यी सबै बैंकको सो लाभांश मूल्यमा समायोजन भइसकेको छ । यो लाभांशबाहेक मूल्यवृद्धिको लाभ लगानीकर्ताले पाएका छन् । साथै लाभांश घोषणा नगरेका बैंकको मूल्यबाट पनि लगानीकर्ताले राम्रो लाभांश पाएका छन् ।
२ महिनामा कुन बैंकका लगानीकर्ताले कति नाफा कमाए ?
| बैंक | मूल्य भदौ १० | मूल्य कात्तिक ११ | वृद्धिदर |
| कृषि विकास | २९६ | ३३८.९० | १४.४९% |
| सिटिजन्स | १९४ | २१८ | १२.३७% |
| एभरेस्ट | ७३० | ७२१ | १५% लाभांश समायोजित |
| ग्लोबल आईएमई | २४३.१० | २५५.९० | १०% लाभांश समायोजित |
| हिमालयन | १८९.५० | २०४.७० | ८.०२% |
| इन्भेस्टमेन्ट मेगा | १८३.३० | २०७.४० | १३.१४% |
| कुमारी | २१२.५० | २४० | १२.९४% |
| लक्ष्मी सनराइज | २१६.९० | २७३ | २५.८६% |
| माछापुच्छ्रे | २४८ | २७७ | ११.६९% |
| नबिल | ५३६.८० | ५४५ | १५% लाभांश समायोजित |
| नेपाल | २७१.७० | ३०६ | १२.६२% |
| नेपाल एसबीआई | ३९९ | ४३८ | ९.७७% |
| एनआईसी एसिया | ३०८ | ३२० | ३.८९% |
| एनएमबी | २३७.५० | २७४ | १५.३६% |
| प्राइम कमर्सियल | २३७.८० | २७३.८० | १५.१३% |
| प्रभु | १७९ | १९१.३० | ६.८७% |
| सानिमा | ३६५ | ४०९.४० | १०% लाभांश समायोजित |
| सिद्धार्थ | ४०८.५० | ४३६ | २०% लाभांश समायोजित |
| स्ट्यान्डर्ड चार्टर्ड | ६४४ | ६८० | ५.५९% |
बैंकको सेयर तुलनात्मक रुपमा सस्तो रहेकाले पनि यसप्रति आकर्षण बढेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘लगानीका लागि हेरिने एउटा प्रमुख सूचक मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो, जुन वाणिज्य बैंकहरूको सबैभन्दा कम छ, यसले गर्दा बैंकको सेयर लगानीका लागि अझै उपयुक्त देखिएको छ’ उनले भने । एक कित्ता सेयरले गर्ने आम्दानी र त्यसको बजार मूल्यलाई पीई रेसियोले जनाउँछ ।
संस्थागत लगानीकर्ता पनि वाणिज्य बैंकका सेयरमै आकर्षित हुने गरेको उनले बताए । ‘लाभांश दिने, स्थिर र बलिया कम्पनी संस्थाका रोजाइमा पर्छन्, त्यसका लागि वाणिज्य बैंक उपयुक्त छन्’ उनले भने ।
बैंकहरूको वित्तीय विवरणमा त्यति धेरै प्रगति नदेखिए पनि अब थप बिग्रिने अवस्था नआउने लगानीकर्ताको अपेक्षा छ । खासगरी नउठेको साँवा, ब्याज उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति अझै पनि उच्च छ । जसले वितरणयोग्य नाफामा केही वर्षदेखि नै असर देखिँदै आएको छ ।
तर विगतमा नउठेको साँवा, ब्याज अशुली बढ्ने अनुमान बैंकहरूको छ । जसको असर सेयर लगानीकर्ताको लाभांशमा परिरहेको छ । माछापुच्छ्रे बैंकका डीसीईओ प्रसिद्धराज अर्याल अहिले लाभांश कम हुनुका दुई मुख्य कारण रहेको बताउँछन् । उनका अनुसार पहिलो, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर घट्नु र आम्दानी घट्नु हो । दोस्रो– खराब कर्जा बढ्दा सम्भावित नोक्सानी व्यवस्थामा धेरै रकम छुट्याउनुपर्ने बाध्यता हो ।
‘तर, प्रोभिजनिङमा गएको रकम हराएको होइन, त्यो ब्यालेन्स सिटमै रहन्छ, रिकभरी फेज आएपछि त्यसको प्रतिफल लगानीकर्ताले पछि पाउँछन्’ उनले भने । यसरी असुली हुने रकम नाफामा देखिने मात्रै होइन, लगानीकर्तालाई लाभांश वितरण योग्य हुन्छ ।
प्रतिक्रिया 4