+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते २१:२०

७ पुस, काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको पनि उनले बताए । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भत्र्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ ।

संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

बैठकले नेकपाको कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको श्रेष्ठले बताए ।

केपी ओली समूहको मंगलबार नै बालुवाटारमा बसेको बैठकले प्रवक्ताबाट हटाएकोबारे संञ्चारकर्मीको जिज्ञासामा श्रेष्ठले तथाकथित गुटको भेलाको निर्णयसँग प्रवक्ता पदको सम्बन्ध नभएको प्रतिक्रिया दिए । उनले आफू कुनै व्यक्‍तिको, गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको र बैठकले अझ उत्साहसाथ अघि बढ्न निर्देश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?