Comments Add Comment

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीद्वारा आन्दोलन घोषणा

अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय

७ पुस, काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले संसद अहिले पनि जीवित रहेको निश्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए ।

संसद विघटन महेन्द्रकै कदमको पुनरावृत्ति

जनता समाजवादी पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद भंग गरेकै घटनाको पुनरावृत्ति भनेको छ ।

‘यो सामान्य घटना नभई संविधान माथिको ‘कु’ नै हो । प्रधानमन्त्रीलाई वर्तमान संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका हुन । प्रधानमन्त्री ओलीको यस कदमलाई उनका श्रृङ्खलाबद्ध अभिव्यक्तिहरूसँग जोडेर हेर्दा हिजोदेखि उनी के चाहान्थे प्रष्ट हुन्छ’ जसपाको निर्णयमा भनिएको छ ।

ओलीले गणतन्त्रको आन्दोलनलाई बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेर आफ्नो गणतन्त्र विरोधी चरित्र प्रष्ट पारेको पनि जसपाले उल्लेख गरेको छ । ‘पहिचानसहितको संघीयताको आन्दोलनलाई साम्प्रदायिक र विखण्डनकारी एवम् आयातित् भन्दै आन्दोलनकारीलाई जातिवादीको आरोप लगाएर आफू एकात्मक केन्द्रीकृत नश्लवादीहरूको कित्तामा उभिएका थिए र उभिरहेका छन्’ जसपाको निर्णयमा  भनिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिगमनकारी, यथास्थितिवादी कित्ताको नेतृत्व गर्दै प्रतिनिधिसभा भंग गराएको भन्दै जसपाले संसद विघटनपछि देशमा प्रतिगमन र अग्रगमन आमनेसामने भएको निश्कर्ष निकालेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment