Comments Add Comment

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

८ पुस, काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।

संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा इजरायलमा नयाँ निर्वाचनको घोषणा भएको हो ।

पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो । गत मे महिनामा प्रधानमन्त्री नेतान्याहुले रक्षामन्त्री बेनी गान्ट्जको पार्टीसँग मिलेर संयुक्त सरकार बनाएका थिए । यद्यपि सत्तारुढ गठबन्धनमा देखिएको आन्तरिक विभाजन बढ्दै गएसँगै सरकारले संसद् विघटन गर्ने निर्णय गरेको हो ।

तीन वर्षे यो कार्यकालमा नेतान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो । जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गान्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो । गान्ट्जले सन् २०२१ को लागि प्रस्ताव गरेको बजेट अनुमोदनको लागि नेतान्याहूले अस्वीकार गरेका हुन् ।

गठबन्धनको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट पारित गराउने म्याद थियो । तर, अन्तिम समयसम्म पनि बजेटमा सहमति जुट्न सकेन । नेतान्याहूले आफूले निर्वाचन नचाहेको तर गान्ट्जको कारण निर्वाचनमा जानुपर्ने बाध्यता आइपरेको बताएका थिए । यसअघि भएको सम्झौता पनि गान्ट्जले पालना नगरेको नेतान्याहूको भनाइ छ ।

यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न इजरायलमा बन्यो राष्ट्रिय सरकार, नेतान्याहु पाँचौंपटक प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment