Comments Add Comment

कोरोना भाइरसको नयाँ लहर : पर्यटन र होटेल व्यवसायी निराश

८ पुस, काठमाडौं । ‘एक वर्ष बीना आम्दानी करोडौं रुपैयाँ नोक्सानी बेहोरिसकियो, यो अवस्था कतिन्जेल रहला ?’ युवा पर्यटन व्यवसायी राजेन्द्र सापकोटालाई अहिले यसै विषयले सबैभन्दा बढी पिरोल्छ ।

बैंक तथा वित्तीय संस्थाले दिएका सहुलियतहरुको समय सीमा सकिन लागिसक्यो, विजनेश सुरु हुने कुनै सुरसार छैन । त्यसमाथि पछिल्लो समय यूरोपका बेलायत, डेनमार्कजस्ता मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ प्रकृतिले व्यवसायीलाई झस्काएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट सिधा उडान वा ट्रान्जिट कुनै पनि माध्यमबाट नेपालमा यात्रु ल्याउन रोक लगाएको छ । यसले साहसिक पर्यटकीय गतिविधिका लागि नेपाल आउन चाहने यूरोपेली पर्यटकको बाटो पुनः एक पटक बन्द भएको छ । सापकोटा भन्छन्, ‘साहसिक पर्यटक महामारीमा पनि रोकिदैनन्, तर बाटो नै छेकिएपछि कस्को के लाग्छ !’

अध्यागमन विभागका अनुसार असोजपछि सबभन्दा बढी पर्यटक आगमन यूरोपबाट भएको छ । दोस्रो स्थानमा अमेरिका छ । साउन-मंसिरमा बेलायतबाट ९०१ जना मात्र पर्यटक आएका थिए ।

व्यवसायी सापकोटाका अनुसार साहसिक गन्तव्यमा नियमित भ्रमण गर्ने यूरोपेली र अमेरिकी पर्यटक यात्रा सहज भएसँगै घुमफिरमा निस्किएका थिए । तर, खोप नै लगाइसकेको बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएपछि संसारभर फेरी यात्रा प्रतिवन्ध सुरु भएको छ ।

यसबाट पर्यटन र होटेल व्यवसायीमा चरम निराशा छाएको छ । नेपाल सरकारले पर्यटक आगमन खुकुलो पारेपछि फाट्टफुट्ट आउन थालेको बुकिङ पनि रद्द हुन थालेको व्यवसायीहरु बताउँछन् ।

बन्द हुन थाले होटेल, कर्मचारीलाई बिदा

दशैं-तिहारको बिदाले आन्तरिक गन्तव्यमा चहलपहल बढेको थियो । अहिले त आन्तरिक पर्यटकको हुल समेत रोकिएको छ । आन्तरिक पर्यटकबाट मोफसलका व्यवसायीले राम्रै लाभ पाएपनि विदेशी पर्यटकमा निर्भर सहरका ठूला होटेलहरु विजनेश सुन्य रहे ।

होटेल संघ नेपाल -हान)का प्रथम उपाध्यक्ष विनायक शाह व्यवसायीहरु अब के गर्ने भनेर केही सोच्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । एकातर्फ लगानी र बढ्दो दायित्व, अर्कोतर्फ महिनौंदेखिको शून्य आम्दानी, यो स्थिति कहिलेसम्म रहन्छ भन्ने अन्योलले सबैलाई सताएको उनले बताए ।

ठुला होटलहरुले कर्मचारीलाई स्वच्छिक अवकासको स्कीम लागु गरेका छन् । ‘महिनामा लाखौं आम्दानी गराउने जनशक्ति राखेर बस्न नसकिने अवस्था आयो’, शाह भन्छन्, ‘हामीले कमाउन नसकेपनि उहाँहरुले विकल्प खोज्नुहोला भनेर यस्तो स्कीम ल्याईएको हो ।’

विकसित मुलुकहरुमा कोरोना बिरुद्व खोप बिकासको काम तिब्र बनेकाले सन् २०२१ बाट अवस्था सुधारिने अपेक्षा रहेकोमा त्यसो हुन नसक्दा व्यवसायीहरु निराश बनेको उनी बताउँछन् ।

आन्तरिक एयरलाइन्सको कमाई घट्यो

पछिल्लो ५ महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय उडान र यात्रुक संख्या बढेको देखाउँछ । यसमा मूख्य भूमिका दशैंतिहारको बिदामा घर आउने नेपालीको थियो । ५ महिनामा ६ हजार विदेशी पर्यटकले त्रिभुवन विमानस्थल हुँदै यात्रा गरेका छन् ।

आन्तरिकर्फ भने सेड्यूल उडान गर्ने वायुसेवा कम्पनीले निरन्तर विजनेश पाइरहेका छन् । लकडाउनभन्दा अगाडीकै अवस्थामा यात्रु पाउन थालिसकेको बुद्ध र यति एयर बताउँछन् ।

अहिले यात्रुको कमी नभएको बुद्ध एयरका एक अधिकारी बताउँछन् । तर, बिना पर्यटक नेपाली यात्रुबाट मात्र कमाई कम भएको उनले बताए । आन्तररिक एयरलाइन्स कम्पनीले विदेशी यात्रुबाट डलरमा भाडा लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment