Comments Add Comment

ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्ड सकारात्मक

९ पुस, काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको बताए ।

सो अवसरमा पुँजीबजारको विकास र विस्तारमा आर्थिक पत्रकारको महत्वपूर्ण भुमिका हुने बताए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै ढुंगानाले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे । ‘सही सूचना सम्प्रेषण भएमात्र बजारको दीगो विकास हुन्छ । यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ,’ उनले भने ।

सो अवसरमा अध्यक्ष ढुङ्गानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए । ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दरमात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुङ्गानाको भनाई छ ।

‘हालको स्लाबलाई घटाउने हो या बढाउने हो ? ब्रोकर कमिसनबाटै बजार संवद्ध निकायले बाँडेर कमिसन लिइरहेका छन्, त्यसलाई छ्ुट्टाछुट्टै बनाउने पो हो कि ? यी विषयमा पनि विचार गर्नुपर्ला,’ उनले भने, ‘बजारले पछिल्लो समय गति लिइरहेको छ । प्राथमिकसँगै दोस्रो बजारमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा नियामकले सोचेर निर्णय गर्नुपर्ने बेला आएको छ ।’

हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्दछ । लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र लाइसेन्स पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताएका हुन् ।

पुँजीबजार विकास र विस्तारका लागि प्राविधिक सुधार देखि नीतिगत सुधारलाई ध्यानमा राखी अघि बढेको बोर्डले बैंक इन्ट्रग्रेसन, ब्रोकरको टीएमएस सुधार र कम्पनीले बोर्डलाई रिपोर्टिङ गर्नका लागि कागजी प्रकृयाको अन्त्य गर्ने प्रयासस्वरुप इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टमको विकास गरिसकेको समेत अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

अध्यक्ष ढुंगानाले सेयर बजार नयाँनयाँ रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको पनि बताए । कार्यक्रममा उनले धितोपत्र बजारको राम्रो विकास भइरहेको दाबी गरे । बजार रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment