Comments Add Comment

भारतमा वायु प्रदूषणका कारण एकैवर्षमा १६ लाख ७० हजार मानिसको मृत्यु

१० पुस, काठमाडौं । भारतमा सन् २०१९ मा १६ लाख ७० हजार मानिसको मृत्युमा वायु प्रदूषण कारक देखिएको छ । भारतको सरकारी संस्था इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को एक रिपोर्टका अनुसार वायु प्रदूषणको कारण सन् २०१९ मा भारतलाई २६ खर्ब भारु पनि नोक्सानी भएको छ । भारतको दिल्ली, उत्तर प्रदेश र बिहारको सबैभन्दा ठूलो हिस्सा लामो समयदेखि वायु प्रदूषणको चपेटामा छन् ।

वर्षाको समयबाहेक भारतका हरियाणा, उत्तर प्रदेश, दिल्ली र बिहारजस्ता प्रान्तका मानिसहरुले वर्षको अधिकांश समय वायु प्रदूषणको मार खेप्दै आएका छन् । आईसीएमआरले सार्वजनिक गरेको प्रतिवेदनमा मानिसहरुको मृत्यु, उनीहरुको रोग र उनीहरुको प्रदूषित वातावरणमा बसेको अवधिको अध्ययन गरिएको थियो । अध्ययनको क्रममा फोक्सोको समस्याबाट मृत्यु हुने मानिसहरुमध्ये ४० प्रतिशतको कारण वायु प्रदूषण थियो । त्यस्तै मुटुको रोग, मधुमेह र समयभन्दा पहिला जन्मिने नवजात शिशुको मृत्युमा पनि वायु प्रदूषण ६० प्रतिशतसम्म जिम्मेवार पाइएको थियो । सन् २०१९ मा भारतमा भएको समग्र मृत्युमध्ये १८ प्रतिशतको कारण वायु प्रदूषण थियो ।

आईसीएमआरको रिपोर्टमा समयमा नै उचित कदम चाल्न नसकिएको अवस्थामा भारतको सन् २०२४ सम्म ५० खर्ब डलरको अर्थतन्त्र बन्ने योजनामा पनि ठूलो धक्का लाग्न सक्ने उल्लेख छ । विशेषज्ञहरुले भारतमा प्रदूषण ठूलो समस्याको रुपमा देखिँदै आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment