Comments Add Comment

सन् २०२० : कोरोना महामारी, ट्रम्पको बहिर्गमन र भू-राजनीतिक तनावको वर्ष

१० पुस, काठमाडौं । सन् २०२० समग्र विश्वको लागि राम्रो वर्ष बन्न सकेन । यो वर्षको अधिकांश समय नकारात्मक समाचारले भरिए । केही मानिसहरुले यसलाई अहिलेसम्मकै सबैभन्दा ‘नराम्रो वर्ष’ बताउँदै आएका छन् ।

तर, विश्वको इतिहास हेर्ने हो भने यो भन्दा पनि खराब अवस्था यसअघि नै आइसकेको छ । अब सन् २०२० सकिन केही दिन मात्र बाँकी छ । सन् २०२० का मुख्य घट्ना यहाँ प्रस्तुत गरिएको छ ।

कोरोना महामारी

सन् २०२० मा सबैभन्दा चर्चित विषय बन्यो–कोरोना भाइरस (कोभिड–१९) । गत सन् २०१९ को अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलियो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ८५ हजार नाघिसकेको छ ।

त्यस्तै यसबाट संक्रमित हुनेको संख्या पनि सात करोड ६३ लाख नाघेको छ । गत मार्चमा डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो ।

संक्रमणबाट मृत्यु हुने मानिसको संख्याको आधारमा भने कोरोना महामारी अहिलेसम्मकै सबैभन्दा ठूलो महामारी भने होइन ।

जसमध्येको एक महामारी ब्ल्याक डेथ हो । सन् १३४६ पछि युरोपमा यसको कारण साढे दुई करोड र विश्वभर करिब २० करोड मानिसको मृत्यु ब्ल्याक डेथको कारण भएको थियो ।
त्यस्तै सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको कारण करिब पाँच करोड मानिसको मृत्यु भएको थियो ।

सन् १९८० को दशकबाट सुरु भएको एड्सको कारण अहिलेसम्म तीन करोड २० लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

भू–राजनीतिक तनाव

सन् २०२० मा भू–राजनैतिक पनि तनाव पनि उत्कर्षमा पुग्यो । कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर वर्षको सुरुवातमा नै चीनको अमेरिका र अस्ट्रेलियासँगको सम्बन्ध चिसिँदै गयो । त्यस्तै गत जुनमा लद्दाखमा भारत–चीन सीमाक्षेत्रमा भएको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

सन् २०२० को सुरुवातमै इरानका जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको थियो । यो घटनाले इरान–अमेरिका सम्बन्ध झनै चर्कियो ।

त्यस्तै यस वर्ष अजरबैजान र अर्मेनियाको बीच विवादित भूमि नागोर्नो–काराबखको विषयलाई लिएर भएको युद्धमा पाँच हजारभन्दा धेरैको मृत्यु भयो । सेप्टेम्बरको अन्तिमबाट सुरु भएको यो युद्ध नोभेम्बर १० सम्म चलेको थियो । रुसको मध्यस्थतामा सकिएको उक्त युद्धमा टर्कीको समर्थन पाएको अजरबैजान अर्मेनियाभन्दा अगाडि देखियो । अजरबैजानले नागोर्नो काराबखमा अर्मेनियाको नियन्त्रणमा रहेको केही भूभाग युद्धविरामको सम्झौतामार्फत आफ्नो बनायो ।

अर्थतन्त्रमा समस्या

सन् २०२० मा विश्वभरको अर्थतन्त्र समस्यामा परेका छन् । कोरोनाबाट समस्यामा परेको अर्थतन्त्रमा सुधारको लागि धेरै मुलुकहरुले अर्बौं डलरको राहत कार्यक्रम ल्याएका थिए । तर, अझै पनि अधिकांश मुलुकको अर्थतन्त्र कोरोना भाइरस आउनुभन्दा अगाडिको अवस्थामा फर्किन सकेको छैन ।

त्यस्तै यस वर्ष बेरोजगारी धेरै मुलुकको समस्याको रुपमा देखियो । कोरोना नियन्त्रणका लागि सरकारले ल्याएको लकडाउन तथा अन्य विभिन्न सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेकाले त्यसको असर रोजगारीमा देखिएको हो ।

प्रहरी क्रूरता

सन् २०२० मा विभिन्न मुलुकमा भएका प्रहरी दमनका घटनाहरु निकै चर्चामा रहे । अमेरिकामा अश्वेत जर्ज फ्लोयडको मृत्युमा प्रहरी अधिकारीबाट भएको विषयले ठूलो रुप लियो । अमेरिकामा यो घटनासँगै वर्ण विभेद विरुद्धमा ठूलो आन्दोलन भयो । यो आन्दोलनको मुद्दा राष्ट्रपति निर्वाचनको एक विषय बन्यो ।

पछिल्लो केही समयदेखि फ्रान्समा पनि प्रहरी दमनको विरुद्धमा आन्दोलन भइरहेको छ । निरन्तर प्रहरी दमनका घटनाहरु सतहमा आएसँगै फ्रान्सले प्रहरी अधिकारीको फोटो तथा भिडियो खिच्न नपाउने नियम ल्याउने विधेयक ल्याउने तयारी गरेको छ । यद्यपि त्यसको विरोधमा फ्रान्सभर निरन्तर प्रदर्शन भइरहेका छन् । यद्यपि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले भने नयाँ कानुन प्रहरी अधिकारीको सुरक्षाको लागि ल्याउन लागिएको बताउँदै आएका छन् ।

बेरुत बन्दरगाहमा विष्फोट

गत अगष्ट ४ मा लेबनानको राजधानी सहर बेरुतस्थित बन्दरगाहमा शक्तिशाली विष्फोट भएको थियो । उक्त विष्फोटमा परी १९० जनाको मृत्यु भएको थियो भने ६ हजारभन्दा धेरै मानिसहरु घाइते भएका थिए । अब्यवस्थित तरिकाले राखिएको दुई हजार ५० टन एमोनियम नाइट्रेट विष्फोट भएको थियो । यससँगै रसायनिक पदार्थको भण्डारणको विषयमा चर्चा सुरु भएको थियो ।

आगलागी

सन् २०२० को सुरुवातमै अस्ट्रेलियाको जंगलको ठूलो क्षेत्रमा आगलागी भएको थियो । आगलागीमा परी तीन अर्ब वन्यजन्तु मारिएको अनुमान छ । साथै, यो आगलागीको कारण ३३ जनाको मृत्यु भएको थियो । आगलागीमा परी अन्य क्षेत्रमा नपाइने धेरै जनावरहरु मरेका थिए ।
त्यस्तै ब्राजिलको अमेजन जंगलमा पनि गत सेप्टेम्बरमा दशककै सबैभन्दा ठूलो आगलागी भएको थियो । विश्वकै ठूलो मानिएको अमेजन नष्ट हुँदै गइरहेको विषयमा पर्यावरणविद्हरुले पनि चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकी निर्वाचन

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडनले जित हात पारेका छन् । आगामी जनवरी २० बाट बाइडनले पदको शपथ लिनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडनले राष्ट्रपति निर्वाचनमा जित हात पारेका हुन् । यद्यपि ट्रम्पले भने अझै निर्वाचनको नतिजा स्वीकार गरेका छैनन् । कमला ह्यारिस पहिलो अश्वेत र महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment