Comments Add Comment

तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक

१०, पुस, काठमाडौं । तिहार लगत्तैदेखि बजारमा खानेतेलको मूल्य बढेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकायले चासो दिएको छैन ।

खुद्रा बिक्रेताहरुका अनुसार पछिल्लो डेढ महिनामा भटमास र सुर्यमूखी तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयबिन तेल १९० देखि ९५ रुपैयाँ पुगेको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

होलसेलमै मूल्य बढ्दा उपभोक्ता मूल्य भने पसलैपिच्छे फरक रहेको उपभोक्ताहरु बताउँछन् । डेढ महिनामा तेलको भाउ लिटरमा ५० रुपैयाँसम्मले बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

यसरी भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्य छ । तेलको भाउ बढेको विषयमा सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर छलफल गरेको अनुगमनकारी सरकारी निकाय वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ । अनुगमन गरेर कारबाही भने कसैलाई नगरीएको विभागका प्रवक्ता शिव सेंढाइले बताए ।

‘हामीले अध्ययन गर्दा मूल्य बढेको पायौं,’ उनले थपे ‘उत्पादक, बितरक र बिक्रेतालाई बोलाएर छलफल गर्दा अन्तर्राष्ट्रिय बजार मूल्य नै बढेको बताए ।’

अन्तर्राष्ट्रिय बजारबाट ब्लकमा तेल नेपाल भित्रिने र यहाँ प्याकेजिङ गरेर बिक्री गरिने सेंढाइको भनाइ छ । अन्तर्राष्ट्रिय कारणले नै मूल्य बढेको विभागको प्रारम्भिक ठहर छ । बजार अध्ययन गरिरहेको र अब अनुगमन पनि बढाइने विभागले जनाएको छ ।

भारततर्फ निर्यात बढ्यो

नेपालबाट चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै निर्यात हुने वस्तु भटमासको तेल रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच महिनामा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको भटमास तेल भारततर्फ निर्यात भयो । व्यवसायीहरूले तेस्रो मुलुकबाट भटमासको कच्चा पदार्थ आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् ।

भारतमा नगदमा र महँगोमा तेल बिक्री हुने भएपछि बिक्री भारततर्फ केन्द्रित गरिएको र नेपालतर्फ मूल्य बढाइएको आरोप उपभोक्ता अधिकारकर्मीहरुको छ । यस विषयमा सरकारी निकायले छानबिन र अध्ययन नै नगरेको उपभोक्ता अधिकारी अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सना बताउँछन् ।

सरकारी निकाय र व्यापारीको मिलोमतोमा तेलको बजार मूल्यमा चलखेल भएको उनको आरोप छ । नेपाल चामल, तेल, दाल उद्योग संघले भने तेलको मूल्य बढ्नुको एकमात्र कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भएको मूल्यबृद्धि रहको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment