Comments Add Comment

माधव नेपालको प्रश्न : नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको होइन ?

१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले अर्का समूहको नेतत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुले प्रतिनिधिसभा भंगको चर्को आलोचना मात्र गरेनन्, प्रधानमन्त्री ओली निरंकुश बनेको आरोप लगाए ।

नेताहरुले ओलीलाई गणतन्त्र र संघीयता मन नपरेको र अहिले मौका पाउँदा सिध्याउन लागेको बताए ।

बलयगाढाको कथा (२०६२/६३ को जनआन्दोलनका बेला ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेका थिए) सबैलाई थाहा छ भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘आन्दोलनपछि म पनि स्वीकार गर्छु भन्नुभयो । हामीले सोच्यौं, साच्चै स्वीकार गर्नुभयो होला भनेको त मौका परेपछि डसौंला भनेर बस्नु भएको रहेछ । उहाँको नक्कली रुप बुझ्न नसक्नु त्रुटि भयो ।’

प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको भन्दै उनले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो । संघीयता विरोधी मन्छे हो ।’

पदमा भएकाहरुमा बिनम्रता चाहिने भएपनि ओली त्यसबाट च्युत भएको उनले बताए । पावरले मान्छेलाई आर्थिक रुपमा भ्रष्ट बनाउँछ वा अन्य हिसावले अहंकारी बनाउँछ । केपीशर्मा ओली जिउँदा जाग्दो उदाहरण हुनुहुन्छ’ उनले भने ।

ओली कम्युनिस्ट विचार सिद्धान्तबाट विचलन भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको त होइन ?’ ओली अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न लागेको र कुन दिन कम्युनिसट आन्दोलन सिध्याउने हो भन्ने चिन्ता रहेको बताए ।

को हुन् गोर्भाचोभ ?

मिखाइल सेर्गेयेभिक गोर्भाचोभ रुसी तथा सोभियत युनियनका राजनीतिज्ञ हुन् । उनी सोभियत संघको आठौं तथा अन्तिम नेता हुन् । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

साथै उनी सन् १९९० मा सोभियत संघको राष्ट्रपति बनेका थिए । आदर्शको हिसाबमा माक्र्सवाद र लेलिनवादमा झुकाव राख्ने गर्भाचोभ सन् १९९० को शुरुआती दशकयता भने सामाजवादी लोकतन्त्रको वकालत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment