१० पुस, जनकपुरधाम । संसद विघटन गर्ने सरकारको कदमको असर विस्तारै प्रदेशसभाहरुमा पनि देखिन थालेको छ । शुक्रबार नै बागमती प्रदेश सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।
प्रधानमन्त्री ओलीले प्रदेशमा आफू निकटका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव ल्याइए त्यहाँको संसद पनि विघटन गरिदिने चेतावनी दिएका छन् । प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भने संसद विघटन गरेर संघीयता समाप्त पार्ने केपी ओलीको खतरनाक खेल भएको बताउँछन् ।
‘ओली संघीयताविरोधी मान्छे भएको पहिलादेखि नै थाहा छ’ नेता यादवले अनलाइनखबरसँग भने, ‘उनले आफ्नै मुखबाट भनेका छन् बाध्यतावश संघीयता ल्याइएको छ । उनलाई संघीयता पचेको देखिएको छैन ।’
संघीयता समाप्त पार्न ओलीले खतरनाक सोंच लिएको बताउँदै यादवले भने, ‘आफ्नो मुख्यमन्त्री हटाएको प्रदेशमा संसद नै भंग नै गरिदिन्छु जुन उनले भनेका छन् त्यसको असर २ प्रदेशमा पनि पर्न सक्छ ।’
उनले ४/५ वटा प्रदेशमा संसद विघटन गरेपछि प्रदेश २ मा पनि बलजफ्ती गर्न सक्ने उनको भनाई छ । ‘२ नम्बर प्रदेश संघीयताको खम्बा हो । यहाँ चोट गरिदिए त संघीयता खारेज नै हुन्छ नि’ उनले भने, ‘यहाँ संघीयता खत्तम भए दूरगामी असर पर्छ । संघीयताको औचित्य महत्व समाप्त हुन सक्छ ।’
संविधानको धारा २३२ को उपधारा ३ मा कुनै प्रदेशमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने भनी उल्लेख गरिएको छ ।
तर, नेता यादव राष्ट्रपतिले प्रधानमन्त्रीको हरेक कुरा मानिरहेको सन्दर्भमा बलजफ्ती तरिकाले प्रदेश २ मा पनि चोट हान्न सक्ने बताउँछन् । यसका निम्ति संघीयता पक्षधरलाई सचेत हुँदै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4