
१२ पुस, सिराहा । ‘हमर बेटा लाखोमे नहीँ करोडोमे एक छै,’ बीबीसी मास्टर सेफ द प्रोफेसनल्स–२०२० को फाइनलिस्ट बनेर चर्चा कमाएका सन्तोष साहकी आमा सोमरीदेवीले गर्वसाथ भनिन् । उमेरले १०० वर्ष छुन आँटेकी उनी छोराको उपलब्धीले औधी रोमाञ्चित देखिन्छिन् ।
सिराहाको कर्जन्हा नगरपालिका वडा–११ मा पर्छ सन्तोषको घर । दुई तल्ले यो घर दुई वर्षअगाडि सन्तोषले नै बनाइदिएका हुन् । घरमा सन्तोषका साईंला दाइ दिलीपको परिवार र आमा बस्छन् ।
हामी पुग्दा घरमा कोही थिएन । सोमरीदेवी छिमेकीको घर अगाडि बन्दै गरेको नाला हेर्दै रहिछन् । हामीले कुरा गर्न बोलाएपछि उनी हौसिँदै आइन् ।
कुराकानीको सुरुवातमै उनले सुनाइन्, ‘छोराले त्यस दिन लन्डनबाट फोन गरेर भन्यो, आमा म त ठूलो मान्छे बनिसकेँ ।’
हुन पनि केही दिनअघिसम्म सन्तोषलाई उनको परिवार, आफन्त र साथीभाइले चिन्थे । अहिले देश–विदेशमा उनी चर्चित बनेका छन् । ३२ जना प्रतियोगी सहभागी रहेको पाककलासम्बन्धी प्रतियोगितामा उपाधिकै नजिक पुग्नु चानचुने उपलब्धी होइन । सन्तोषले प्रतियोगिताभर नेपालका विभिन्न भेग र समुदायका परिकार बनाएर निर्णायकहरुको मन जितेका थिए । भारत हुँदै लण्डन पुगेका साहको राष्ट्रप्रेमले सारा नेपालीहरुलाई खुसी दिएको छ ।
अवश्य पनि सबैभन्दा बढि खुसी त उनकी आमा छिन् । सोमरीदेवी भन्छिन्, ‘सन्तोषले मलाई फोन गरेर ठूलो मान्छे भएँ भनेपछि मेरो खुसीको सीमा नै छैन ।’
करिब डेढ वर्षअघि सन्तोष घर आएका थिए । त्यसबेला आफू बिरामी पर्दा जनकपुरसम्म लिएर गएको र हिँडन नसक्दा पिठ्यूँमा बोकेर अस्पतालसम्म पुर्याएको उनले सम्झिइन् ।
सन्तोष पाँच दाजुभाइमध्ये सबैभन्दा कान्छो हुन् । उनी ५ वर्षका छँदै बुबा बितेका थिए । सन्तोषलाई पढ्ने इच्छा औधी थियो । तर, त्यसबेला घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले पढाउन नसकिएको सोमरीदेवीले बताइन् ।
‘सानोमा कहिले पनि यो चाहियो, त्यो चाहियो भनेर झगडा गरेन,’ उनले सुनाइन्, ‘जे छ त्यसैमा चित्त बुझाउँथ्यो ।’
गाउँकै विद्यालयमा प्रवेशिकासम्म अध्ययन गरेका सन्तोष १५ वर्षका हुँदा साथीहरुसँग भारत हिँडे । भारतको अहमदावादको एक होटलमा काम गर्दा उनले खाना बनाउन सिके । मिठो खाना पकाउन निपूण हुँदै गएपछि उनी लण्डनसम्म पुग्न सफल भए ।
उनका जेठा दाजु देवनारायण केही वर्षअघि डीभी परेर परिवारसहित अमेरिका पुगेका छन् । सन्तोषका अरु दाजुहरु आफ्नै काम गरेर गुजारा गरिरहेका छन् ।
सन्तोष कम्तीमा हप्ताको एक दिन आफ्नी आमालाई फोन गर्छन् । फोन गर्दा प्रत्येकपटक आमाले सोध्ने गर्छिन्– छोरा अब त बिहे गर्ने समय भयो, मलाई बुहारी ल्याइदेऊ ।
यसमा सन्तोषको उत्तर हुन्छ, ‘तपाईं जोसँग भन्नुहुन्छ, उसैसँग बिहे गर्छु ।’
पछिल्लोपटक कुराकानीमा पनि सन्तोषले यही भनेको सोमरीदेवीले बताइन् ।
‘सन्तोषले गाउँमै आएर बिहे गर्छु भनेको छ, मलाई कान्छो छोराको बिहे हेर्न ठूलो धोको छ,’ उनले भनिन् ।
सन्तोषको पछिल्लो उपलब्धी चर्चासँग उनलाई छोरी दिन चाहनेहरु धेरै छन् । आजकाल ‘केटीवाला’हरुको अत्यधिक फोन आइरहेको सोमरीदेवीले बताइन् ।
‘म त त्यत्ति फोन चलाउँदिनँ । तर, छोरा दिलिपको फोनमा सन्तोषको बिहेलाई लिएर केटीवालाहरुले धेरै फोन गर्न थालेका छन्,’ उनले भनिन्, ‘अब त सन्तोषको बिहे नगरी भएन । एउटा राम्रो केटी खोजेर उनको बिहे गराउँछु ।’
प्रतिक्रिया 4