Comments Add Comment

अपारदर्शी ढंगले कुनै पनि खरिद गर्दिन : स्वास्थ्यमन्त्री त्रिपाठी

फाइल तस्वीर

१२ पुस, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् ।

कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत उनले बताए ।

कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।

‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन । चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु ।’

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताए । उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment