Comments Add Comment

स्कटल्याण्डका कोट्जर बने दशककै उत्कृष्ट एसोसिएट खेलाडी

१२ पुस, काठमाडौं । स्कटल्याण्डका क्रिकेटर कायल कोट्जरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) दशककै उत्कृष्ट एसोसिएट खेलाडीको अवार्ड जितेका छन् ।

नेपाली टिमका निवर्तमान कप्तान पारस खड्कासहित ५ खेलाडीलाई पछि पार्दै कोट्जरले उक्त अवार्ड जितेका हुन् ।

कोट्जर र पारस संगै स्कटल्याण्डकै कलुम म्याकलोएड र रिची बेरिंगटन, पपुवा न्यु गिनीका असद भाला तथा नेदरल्याण्ड्सका पिटर बोरेन यस विधामा मनोनयनमा परेका थिए ।

कोट्जरले एक दशकमा ४५.५४ को औसतले ओडीआईमा २ हजार २७७ रन बनाएका छन् । ३६ वर्षीय कोट्जरले स्कटल्याण्डका लागि ५९ ओडीआईमा ४३.८० को औसतले ४ शतक र १७ अर्धशतक प्रहार गर्दै २,४०९ रन बनाएका छन् । यस्तै ५८ टी २० अन्तर्राष्ट्रियमा उनले २५.६६ को औसतले ६ अर्धशतक प्रहार गर्दै १,३८६ रन बनाएका छन् ।

कोट्जरले २००८ मा स्कटल्याण्डबाट इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए ।

आईसीसीले घोषणा गरेको एसोसिएट राष्ट्रको उत्कृष्ट महिला खेलाडीको अवार्ड पनि स्कटल्याण्डकै काथ्रिन ब्रिसले जितेकी छिन् ।

यस्तै आईसीसीले दशकको टेष्ट, ओडीआई र टी २० टिम पनि घोषणा गरेको छ ।

दशकको टेष्ट टिममा इंग्ल्याण्डका एलेस्टर कुक, बेन स्टोक्स, स्टुअर्ड बोर्ड र जेम्स एण्डरसन, अष्ट्रेलियाका डेभिड वार्नर र स्टिभ स्मिथ,भारतका विराट कोहली र रविचन्द्रन आश्विन, श्रीलंकाका कुमार सांगाकारा, न्युजिल्याण्डका केन विलियम्सन र दक्षिण अफ्रिकाका डेल स्टेन छन् ।

दशकको ओडीआई टिममा भारतका रोहित शर्मा, विराट कोहली र महेन्द्र सिंह धोनी, अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल स्टार्क, दक्षिण अफ्रीकाका ए बि डी भिल्लियर्स र इमरान ताहिर, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका बेन स्टोक्स, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट तथा श्रीलंकाका लासिथ मालिंगा परेका छन् ।

यस्तै दशकको टी २० टिममा पनि भारतका रोहित शर्मा, विराट कोहली र महेन्द्र सिंह धोनी अटाएका छन् । यस्तै भारतका जसप्रित बुमराह, अस्ट्रेलियाका आरोन फिन्च र ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्स, वेस्ट इन्डिजका क्रिस गेल र किरोन पोलार्ड, अफगानिस्तानका रासिद खान र श्रीलंकाका लासिथ मलिंगा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment