Comments Add Comment

१२ घण्टाको पैदल हिँडेर ३ जना साथीले बचाए बाबुछोराको ज्यान

१५ पुस, काठमाडौं । अष्ट्रेलियाको विकट क्षेत्रमा फसेका १० वर्षीय बालक र उनका बाबुलाई तीनजना साथीहरुले १२ घण्टा पैदल हिँडेर बचाएका छन् ।

गत आइतबार उनीहरु अष्ट्रेलियाको क्विन्सल्याण्डको उत्तर-पश्चिमी क्षेत्रमा यात्रा गरिरहेका थिए । तर, उनीहरु चढेको कार बाढीले जलमग्न भएको सडकको बीचमा फस्यो ।

हिलोबाट कार बाहिर निकाल्न नसकेपछि उनीहरुको समूहले त्यो रात कारमा नै बितायो । भोलिपल्ट बिहानै उनीहरुको समूहका तीनजना साथीहरु सहयोगको खोजीमा त्यहाँबाट सबैभन्दा नजिकमा पर्ने ठूलो सहर माउन्ट एसातर्फ लागे । यो सहर उनीहरु फसेको स्थानबाट ५० किलोमिटर टाढा थियो ।

उनीहरु १२ घण्टा हिँडेर उक्त सहरको प्रहरी चौकीमा पुगेर सहयोगका लागि आग्रह गरे । उनीहरुले आफ्नो साथी रहेको स्थानको लोकेसन पनि प्रहरीलाई दिए । त्यहाँबाट परिचालन भएको प्रहरीले साँझ हुनुभन्दा केही समयअगावै उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो । उनीहरु कारको छानामा सहयोगको लागि कुरिरहेका थिए ।

प्रहरीका अनुसार उद्धार गरिएका बाबुछोराको अवस्था सामान्य छ र १२ घण्टाको पैदल हिँड्ने तीन साथीहरुमा पनि कुनै समस्या देखिएको छैन । उद्धार टोलीका पाइलट रुसेल प्रोक्टरले बाबुछोराले सही समयमा सही काम गरेको भन्दै उनीहरुको प्रशंसा गरे ।

उद्धारको लागि लामो समय लागेको भए पनि उनीहरु एकै स्थानमा धैर्यतापूर्वक बस्नुले उद्धाकार्य सहज भएको उनको भनाइ छ । भ्रमणमा हिँड्दा उनीहरुले साथमा खानेपानी राख्नु पनि उनीहरुको अर्को बुद्धिमानी भएको उद्धारकर्ताहरुले बताए । अष्ट्रेलियाको उत्तरपूर्वी क्विन्सल्याण्डमा वषर्ायाममा बाढीको प्रकोप देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment