Comments Add Comment

यमनमा मन्त्रिपरिषदका नयाँ सदस्य आउनासाथ आक्रमण, प्रधानमन्त्री सुरक्षित

१६ पुस, काठमाडौं । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा २२ जना मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ विष्फोट भएको थियो ।

मारिनेहरुमा सहायक कर्मचारी र केही अधिकारीहरु छन् । प्रधानमन्त्री र उनको मन्त्रिपरिषदका सदस्यहरु भने सुरक्षित छन् । विष्फोटपछि प्रधानमन्त्री मइन अब्दुलमलिक सइद र उनको मन्त्रिपरिषदका सदस्यहरुलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

यमनको सूचना मन्त्री इरियानीले हुथी विद्रोहीहरुले कायरतापूर्ण आक्रमण गरेको टिप्पणी गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा दुई पटक विष्फोट भएको आवाज सुनिएको जनाएको छ । विष्फोटपछि गोली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मिसाइल आक्रमण गरेको देखिन्छ ।

यसअघि सन् २०१९ मा पनि अदनको एक सैन्य परेडमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा ३६ जना मारिएका थिए ।

यमन सन् २०१५ मा शुरु भएको गृहयुद्धपछि संकटमा छ । हुथी विद्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नियन्त्रणमा लिएका छन् । उनीहरुले साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बु मंसुर हादीलाई देश छाड्न बाध्य पारेका थिए ।

त्यसपछि साउदी अरबको नेतृत्ववाला सैन्य गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गर्दै आएको छ । त्यसपछि यमनको हालत झन् खराब हुँदै गएको बताइन्छ । यमनको गृहयुद्धमा हालसम्म १ लाख १० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment