Comments Add Comment

पहुँचका भरमा अनावश्यक विमानस्थल बने : मन्त्री ढकाल

१६ पुस, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए ।

देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने मन्त्री ढकालको भनाइ छ ।

उनले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने बताए । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्नेबारेमा गहिरो गरी हेर्नुपर्ने उनले बताए ।

कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताए ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्र्बौ रुपैयाँ नोक्सानी भएको बताए । नेपाल वायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले जानकारी दिए।

प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment