Comments Add Comment

प्रदेश २ मा प्रचण्ड–माधव समूहद्वारा संघर्ष समिति गठन

१७ पुस, जनकपुरधाम । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति बनाएको छ ।

नेकपा प्रदेश कमिटिको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको अर्का प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले जानकारी दिए ।

बैठकले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार बिहान जनकपुरधामस्थित नेकपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले संघर्षलाई निरन्तरता दिइने बताए ।

प्रदेशका प्रत्येक जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम गरिने पासवानले जानकारी दिए ।

आगामी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन हुने उनले बताए । जिल्ला र स्थानीय तहको अवस्था अनुसार संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए । आन्दोलन सँगसँगै जनसंगठनका कामहरुको व्यवस्थापन र सञ्चालन गर्ने बताउँदै नेकपाले प्रचार प्रसार सम्बन्धी व्यवस्थापनको जिम्मेवारी प्रदेश कार्यालयलाई दिइएको उनले बताए ।

पत्रकार सम्मेलनमा अधिकांस सदस्य र जनप्रतिनिधि आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षले दाबी गरेका छन् । उनीहरुका अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने ६४ जना केन्द्रीय सदस्यमध्ये ४५ जना आफूहरुको पक्षमा छ ।

यस्तै, प्रदेशका २ सय १४ जना सदस्यमध्ये १ सय ३४ जना, प्रतिनिधिसभाका १६ जना सांसदमध्ये ११ जना, राष्ट्रियसभाका ४ जना सदस्यमध्ये २ जना र प्रदेश सभाका ३२ सांसद मध्ये २० जना आफूहरुको पक्षमा रहेको उनीहरुको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment