Comments Add Comment

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगजानी भएको छ ।

प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको ठाउँमै आगजानी भएको हो ।

सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ गरेको अवस्थामा राति १० बजे अज्ञात समूहले जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

‘गाडीमा आगो लगाइयो कि लाग्यो भन्ने अझै खुलेको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘आगो लागेपछि मात्र थाहा भएको स्थानीयले बताएका छन् । हामी अनुसन्धानकै क्रममा छौं ।’

डीएसपी श्रेष्ठका अनुसार गाडीमा एक्कासी आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।

बिहीबार राति भेरी नगरपालिका–७ का अध्यक्ष चन्द्रबहादुर शाहीको घर नजिकै गाडी राखेर अध्यक्ष सिंह त्यहाँ बास बसेका थिए । उनी योजना अनुगमनको क्रममा त्यहाँ गएको प्रहरीले जनाएको छ ।

उक्त गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य तथा प्राकृतिक समितिका सभापति सिंहले प्रयोग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment