+
+

रेलवेको सुरक्षार्थ खटियो सशस्त्र प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १९:२१
फाइल तस्वीर

१७ पुस, काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए । उनले भने, ‘केही अघि रेलवेको क्लीप चोरी भएको भन्ने विषय सार्वजनिक भयो, त्यसैले यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो ।’

सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल भने हालसम्म मन्त्रिपरिषदको निर्णय आफूहरु कहाँ आइनसकेकाले कसरी परिचालित हुने भन्ने विषय टुंगो लागि नसकेको बताउँछन् । यद्यपि, धनुषामा रहेको ८ नं. गण मातहतको बार्डर आउट पोष्ट (बीओपी) ले सुरक्षाको जिम्मेवारी सम्हालिरहेको उनी बताउँछन् ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारी दीर्घकालसम्मका लागि भने होइन । ‘रेलवे ऐन बनिरहेको छ, त्यसमा रेल सम्बन्धी सुरक्षाका लागि छुट्टै डेडिकेटेड युनिटको परिकल्पना गरिएको छ’, स्रोतले भन्यो, ‘त्यसैले तत्कालका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको हो ।’

अधिकारीहरुका अनुसार जनकपुर–जयनगर खण्डमा ३५ किलोमटर रेलवे लिक निर्माण भएको छ । त्यहाँ ७ सय बढी क्लिप चोरी भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । चोरी गर्ने व्यक्तिले क्लिपलाई कबाडी कहाँ विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?