Comments Add Comment

ठोरी घुम्न आउने पर्यटकको संख्यामा कमी

१७ पुस, वीरगञ्ज । अंग्रेजी नयाँ वर्षका दिन यसवर्ष ठोरी घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । नयाँ वर्षमा आन्तरिक तथा भारतीय पर्यटकहरुको बाक्लो चहलपहल रहने ठोरीको राईधारा, सुवर्णपुरको बाघमोर्चा क्षेत्रमा यसवर्ष पर्यटकको संख्यामा कमी आएको हो ।

विगतका वर्षहरुमा अंग्रेजी नयाँ वर्षको दिन ठोरीमा हजारौंको संख्यामा मानिसहरु वनभोज खान र घुमफिर गर्न आउने गरेका थिए । कोरोना महामारीका कारण सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीले गरेको कडाइका कारण पर्यटक आगमनमा कमी आएको स्थानीयको भनाइ छ ।

नयाँ वर्षको दिन वर्षेनी भारतको बेतिया, नरकटियागञ्ज, पटना लगायतका सहर र सीमावर्ती गाउँबाट हजारौंको संख्यामा भारतीय पर्यटकहरु सवारी साधन लिएरै ठोरी आउने गर्दथे । तर
कोरोना त्रासका कारण यसवर्ष भारतीय नम्बर प्लेटका सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमै सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जसले गर्दा छिटपुट बाहेक भारतीय पर्यटक ठोरीमा प्रवेश गर्न नै पाएनन् । दुवै तर्फको सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा आवतजावतमा कडाई गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक शंकर कोइरालाले बताए ।

‘कोरोना कहरका कारण अझै नेपाल भारत सिमा क्षेत्रमा आवतजावतमा सरकारले रोक लगाएको छ,’ उनले भने, ‘सोही निर्देशन अनुसार सुरक्षा सतर्कता अपनाउँदै सीमा क्षेमा कडाई गरेका छौं ।’
सुरक्षा सतर्कताका कारण मोटरसाइकल, बस, बोलेरो, जिप, ट्याक्टर जस्ता सवारी साधन लिएर आउने पर्यटक आउन पाएका छैनन् । सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई स्वागत गर्न सकिनेमा सरकारले रोक लगाएर लाखौंको नोक्सानी बेहोर्नुपरेको ठोरी बजारका व्यापारीहरु बताउँछन् ।

भारतीय पर्यटकको संख्या कम हुँदा नयाँ वर्षमा ठोरीमा विगतमा जस्तो उल्लास नदेखिएको ठोरी–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले जानकारी दिए । ‘भारतीय पर्यटकहरु समूहमा वनभोज खान, रेड हील, ह्वाइट हील, झोलुङ्गे पुल चढ्न आउने गरेका थिए,’ उनले भने ‘ सवारी साधन ल्याउन नपाएपछि कमै मात्र आएका छन् ।

अघिल्ला वर्षहरुमा ठुटेखोला क्षेत्रमा सवारी साधनको भिड रहने गरेकामा शुक्रबार कमै मात्र सवारी साधन देखिएको स्थानीयले बताएका छन् । भारतीय पक्षले कतिपय पर्यटकलाई शुभद्राको भवानीपुर तिर नै रोकेको स्थानीय बताउँछन् ।

विगतका वर्षमा नयाँ वर्षमा राईधारा, रानीवन क्षेत्रमा खचाखच पर्यटक हुने गरेको भएपनि यसपाली त्यस्तो नदेखिएको स्थानीय महिला अगुवा गोकुलीकुमारी रेग्मीले बताईन् ।

‘राईधारा क्षेत्र पिकनिक खान आउने पर्यटकले भरिएको हुन्थ्यो । होटलतिरको व्यवसाय राम्रो चल्थ्यो । कोभिड–१९ का कारण यसपाली खासै पर्यटक देखिएनन्,’ उनले भनिन्. ‘ भारतीय सवारी आउनमा रोक लगाएपनि पैदल आउन दिइएको छ । कतिपयलाई उतै रोकेको भन्ने पनि सुनेको छु ।’

वीरगञ्ज, कलैया, जीतपुर पर्सा बाराका ग्रामीण क्षेत्रका आन्तरिक पर्यटकको संख्यामा समेत अघिल्लो वर्षको तुलनामा कमी आएको स्थानीय शिक्षक चिरञ्जीवी सापकोटाको भनाइ छ । कोरोना त्रासका कारण वितेको वर्षको तुलनामा यसवर्ष पर्यटकको संख्या ६० प्रतिशतको हाराहारीमा घटेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।

समितिले ठोरीको राईधारा क्षेत्रमा सरसफाई शुल्क बापत ४ पाङ्ग्रे सवारीबाट प्रति सवारी १ रुपैयाँका दरले लिने गरिएको छ । यसवर्ष सवारी साधनको संख्या ह्वात्तै घटेकोले सरसफाई शूल्क कम संकलन भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

आन्तरिक पर्यटकहरु नयाँ वर्षको दिन पारेर वनभोज खान रानीवन, राइधारा, बुलबुले र क्यामुना घारीमा आउने गरेका छन् । गत वर्ष वनभोज खाने ठाउँ समेत नभएर कतिपयले खोलाको छेउमा वनभोज खाएको ठोरी–४ का घनश्याम रिसाल स्मरण गर्छन् ।

ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले संघ सरकारले नाकाबन्दी जारी नै राखेका कारण पर्यटक चाहेर पनि आउन नपाएको बताए । ‘ आन्तरिक पर्यटक त आएका छन्, तर बढी आउने भारतीय नै हुन्,’ उनले भने, ‘ सवारी साधन आवागमनमा रोक लागेकोले त्यसको असर देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment