Comments Add Comment

फेरि आगो ओकल्न थाले ओली !

१८ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको बलियो पक्ष हो- जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई आत्मविश्वासी देखाउनु र विपक्षीप्रति कठोर अभिव्यक्ति दिनु ।

भाषणको बीचबीचमा उखान टुक्का प्रयोग गर्दै विपक्षीलाई भित्तैमा पुग्ने गरी दिने उनका अभिव्यक्तिले कार्यकर्ता उत्साह मात्र भर्दैन, मनोरञ्जन पनि दिन्छ । विशेषगरी पूर्वमाओवादी र तिनका नेताहरुप्रति कठोर अभिव्यक्ति दिएर पूर्वएमाले वृत्तमा ओली रुचिकर वक्ता बने । संविधान निर्माणको संक्रमणकालीन समयमा कहिले माओवादी आन्दोलन, त कहिले मधेसी र जनजाति आन्दोलनका एजेण्डाको विपक्षमा उभिएर ओलीले राजनीतिक उचाइ पनि बढाए ।

२०७४ को आम निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग वाम गठबन्धन र २०७५ जेठ ३ मा पार्टी एकता गर्दै नेकपा नेतृत्वमा पुगेपछि ओलीको अभिव्यक्तिले यू-टर्न लियो । आफैं पार्टी र सरकारको नेतृत्वमा रहेकाले नेकपाका अरु नेताहरुप्रति ओलीले कटाक्षको जरुरी भएन ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा धेरै अपवाद बाहेक धेरै प्रश्न नगरेका कारण यो तीन वर्षको अवधिमा ओलीको कडा कटाक्ष सुनिएन । तर, दुई वर्षे कार्यकाल बाँकी रहँदै संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने ओलीको निर्णयसँगै नेकपा विभाजित हुन पुगेको छ ।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका बहुमत नेताहरु संसद विघटनको विपक्षमा उभिएका छन् । पार्टी अध्यक्षबाट ओलीलाई कारबाही गरेको यो समूह सडक आन्दोलनमा गएको छ भने अर्को समूहको नेतृत्व गरेको ओली पनि संगठन विस्तारमा जुटेका छन् ।

हरेक दिन जसो पार्टीको भेला बैठकमा जाने र सम्बोधन गर्छन् । र, पहिलेकै ओली सुनिन थालेको छ । शनिबार प्रज्ञा भवनमा आयोजित आफ्नो समूहका काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा पनि ओलीले पूर्वसहकर्मी प्रचण्ड र माधवनेपाल कडा कटाक्ष गरेका छन् ।

कुहिएको फलदेखि खिया लागेको नटबोल्डसम्म

सम्बोधनको शुरुबाटै ओली प्रचण्ड-माधव नेपाल समूहविरुद्ध खनिए । उनले प्रचण्ड र माधव नेपाललाई खिया लागेको नटबोल्ड, कुहिएको फलसँग दाँजे । प्रचण्ड, माधवहरुकै कारण एकता गरेको तीनवर्षसम्म पार्टीले गति लिन नसकेको निष्कर्ष सुनाउँदै ओलीले भने, ‘दुइटा नटबोल्ड फेर्दा गाडी अगाडि ।’

हामीले फेरेको पनि होइन, आफैं फुक्लिएको नटबोल्ड । खिया लागेका दुईवटा नटबोल्ड फुक्लिएको थियो, पार्टी गतिसाथ अगाडि गयो ।’

पार्टी वैधानिकताको प्रश्नमा पनि प्रचण्ड र माधवलाई कटाक्ष गर्दै ओलीले पेडा पसलेको संज्ञा दिएका थिए । ‘निर्वाचन आयोगबाट हिजो मैले पत्र प्राप्त गरेँ । उहाँहरुले निवेदन हाल्नुभएको रहेछ असली हामी हौं भनेर’ उनले भने, यो बरमझियाको पेडा पसल हो ? असली र नक्कली हुन ।’

नेकपाको वैधानिकता आफ्नो समूहले पाउने दाबी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले चार्ली च्याप्लिन चिन्ने तर्क गरे । ‘जसको घर हो, उ निवेदन हाल्न किन जान्छ ? उनले प्रश्न गरे । आफूले नेतृत्व गरेको नेकपा असली भएकाले सूर्य चिन्ह पनि आफूहरुकै भएको उनको जिकिर थियो । ‘कार्की ब्याङ्क्वेटमा खानपिन गरेर केपी ओलीलाई निकाल्दिऔं भनेर घोषणा गर्नुभएछ । निर्वाचन आयोगमा पनि पत्र पठाउनु भएछ केपी ओलीलाई निकाल्यौं भनेर । त्यो हेरेर निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँस्नुभयो मलाई थाहा छैन’, उनले भने ।

ओलीले पूर्व सहकर्मीद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कुहिएको फलसँगै दाँजेका थिए । आधिकारिक नेकपा आफूहरुको भएको प्रचण्ड-माधव नेपालको दावीतर्फ संकेत गर्दै उनले भने, ‘अब, भेट्न कुहिएर झरेको दुइटा फलहरुले रुख मै हुँ भनेर दावी गर्ने ?’

ओलीले प्रचण्ड र माधव नेपाल समूहले गरेको आन्दोलनलाई रत्नपार्कमा औषधि बेच्नेसँग तुलना गरेका थिए । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्योभन्दा बढ्दा हुनेवाला छैन । किनकि उहाँहरुको एजेण्डा जनता होइन ।

प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले दुनियाँ आश्चर्य चकित हुने गरी काम गरेको दावी गरे । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिले साथ दिने बताइरहँदा आफ्नै पार्टीका नेताहरुले साथ नदिएको ओलीको कथन थियो ।

‘प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले बोलेको सुन्नुभएको छ ? एउटा भनाइ छ नि ढुंगो बोल्ला, ऊ बोल्दैन’, ओलीले भने । देशको नक्सा छाप्दा र विकास हुँदा छटपटी हुनेहरुले धराहराको २२ औं तलबाट खिचिएको तस्वीर नदेखेको उनले बताएका छन् । ‘त्यहाँ पत्रकार गएर फोटो खिच्यो, यस्तो देखिन्छ काठमाडौं’, ओलीले आफ्नो नेतृत्वमा नेपाल निकै अगाडि बढेको दावी गरे ।

आफूले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले भारतका हरेक मान्छेलाई नेपालमा प्रधानमन्त्री को छ भनेर सोध्नुभयो भने कण्ठै थाहा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment