Comments Add Comment

टेस्लाको कीर्तिमान, एक वर्षमा ५ लाख कार उत्पादन

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

टेस्लाले सन् २०२० मा ५ लाख विद्युतीय कार निर्माण गरेको छ, जुन कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो ।

उत्पादित कारमध्ये ४ लाख ९९ हजार ५५० वटा कार ग्राहकलाई डेलिभर गरिसकिएको छ भने अन्य कार ग्राहकसम्म पुग्ने क्रममा रहेका छन् ।

कारको उत्पादन तथा डेलिभरीको यो संख्या सन् २०१९ को तुलनामा एक तिहाइले बढी हो ।

कोरोना महामारीका कारण कम्पनीको क्यालिफोर्नियास्थित मुख्य उत्पादन कारखाना दुई महिनाका लागि बन्द हुँदासमेत टेस्लाले ५ लाख कार उत्पादन गर्न सक्नुलाई ठूलो उपलब्धि मानिएको छ ।

चीनको सांघाईमा सन् २०१९ को अन्त्यतिरबाट सञ्चालनमा आएको नयाँ कारखाना टेस्लाको भाग्य चम्काउनमा महत्वपूर्ण सावित भएको छ । सन् २०२० मा उत्पादित तथा ग्राहकसम्म पुर्‍याइएका टेस्लाका कारमध्ये ठूलो हिस्सा सांघाइमा उत्पादित कार नै रहेका छन् ।

समग्रमा सन् २०२० को चौथो त्रैमासिकमा टेस्ला कम्पनीले १ लाख ७९ हजार ७५७ गोटा कार उत्पादन गरेको छ, जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ७१ प्रतिशतले बढी हो । यस त्रैमासिकमा कम्पनीले त्यसअघि उत्पादित समेत गरी १ लाख ८० हजार ५७० कार डेलिभर गरेको छ, जुन सन् २०१९ को सोही त्रैमासिकको तुलनामा ६१ प्रतिशतले धेरै हो ।

स्मरण रहोस् गत अक्टोबर महिनामै टेस्लाका सीईओ एलन मस्कले सन् २०२० मा कम्पनीले ५ लाख कार उत्पादन गर्ने घोषणा गरेका थिए । तर वालस्ट्रिटका विश्लेषकहरुले चाहिँ कम्पनीको उक्त लक्ष्य पूरा हुन कठिन रहेको भन्दै त्यसभन्दा कम्तिमा ९ हजार कार कम उत्पादन हुनसक्ने बताएका थिए ।

महामारीमा उपभोक्ताहरुको आर्थिक जटिलताका बाबजुत पाँच लाखको कोशेढुंगा छुनु भनेको कम्पनीका लागि ठूलो विजय भएको विश्लेषकको भनाइ छ ।

यसैबीच २०२० मा आफ्नो लक्ष्य पूरा गरेसँगै टेस्लाले सन् २०२१ का लागि थप महत्वाकांक्षी योजना तय गरेको छ । जर्मनीको बर्लिन र अमेरिकाको टेक्सासस्थित अस्टिनमा टेस्लाका नयाँ कारखाना यो वर्ष सञ्चालनमा आउनेछन् भने भारतमा समेत टेस्लाका कारण बिक्री सुरु गर्ने कम्पनीको योजना छ ।

यद्यपि कार उत्पादन तथा बिक्रीमा टेस्लाले प्राप्त गरेको सफलताको तुलनामा कम्पनीको शेयर मूल्यमा भएको वृद्धि निकै नै उच्च रह्यो सन् २०२० मा । यस वर्ष टेस्लाको शेयर मूल्यमा ७४३ प्रतिशतको वृद्धि भयो । सन् २०२१ मा टेस्लाको शेयर मूल्यमा निरन्तर वृद्धि भैरहने अपेक्षा गरिएको छ ।

स्मरण रहोस् विश्वका अग्रणी गाडी निर्माता कम्पनीहरुले सन् २०२० मा उत्पादन तथा बिक्री गरेका सवारी साधनहरुको रिपोर्ट जनवरी महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्नेछन् । महामारीका कारण सबैजसो ठूला गाडी कम्पनीहरुको बिक्रिदरमा सन् २०२० मा गिरावट आएको अनुमान गरिएको छ ।

सन् २०१९ को तथ्यांकलाई हेर्ने हो भने विश्वको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी फक्सवागनले सन् २०१९ मा १ करोड १० लाख गोडा कार बिक्री गरेको थियो भने सबैभन्दा ठूलो अमेरिकी गाडी निर्माता कम्पनी जनलर मोटर्सले ७७ लाख गोटा कार बिक्री गरेको थियो ।

कार बिक्रीको संख्याका हिसाबले टेस्ला ती कम्पनीहरु भन्दा निकै पछाडि रहेको भए पनि ऊ विश्वको सबैभन्दा मूल्यवान कार कम्पनी हो । अहिले करिब ६ खर्ब ७० अर्ब डलर छ । जुन टोयोटा, फक्सवागन, डाइम्लर, जिएम, बिएमडब्लु, होन्डा, हुण्डाई र फोर्ड कम्पनीको संयुक्त मूल्यभन्दा पनि धेरै हो ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment