+
+
Shares

जंगबहादुरको ‘नयाँ संस्करण’लाई रोकौं

सुरेन्द्र बस्नेत सुरेन्द्र बस्नेत
२०७७ पुष २० गते १५:५४

नेपालमा कुनै जमाना थियोे, जहाँ श्री ३ महाराज जंगबहादुरले बोलेपछि त्यसले मुलुकको कानुनसरह मान्यता पाउँदथ्यो । जंगबहादुरले सनकका भरमा जारी गरेका हरेक फर्मान र आदेशहरुले कानुनसरह मान्यता पाउँदथे ।

नागरिकले उनको जंगी कानुन मानेनन् भने त्यसलाई दण्डनीय अपराधको विषय बनाइन्थ्यो । इतिहासमा जंगबहादुरको त्यो हुकुमी शासन १०४ वर्षसम्म टिक्यो । जनता सचेत भएपछि त्यो निरंकुश शासन गर्लयाम गुर्लुम्म ढल्यो ।

तर आज राणा शासन ढलेको सात दशकपछि नेपाली राजनीतिमा फेरि एकपटक ‘जंगबहादुर’ को नयाँ संस्करणको चर्चा शुरु हुन थालेको छ । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन छ । तर बालुवाटारमा बसेर प्रधानमन्त्री भन्छन्– संसद कुनै हालतमा पुनः स्थापना हुँदैन ।

दलको आधिकारिकताको विवाद निर्वाचन आयोगमा छ । प्रधानमन्त्री हरेक दिन आयोगलाई मनोवैज्ञानिक धम्की दिइरहेका हुन्छन् । प्रधानमन्त्री भष्ट्राचारीको मुख हेर्दिन भन्छन् । तर न्यायिक निकायमा मुद्दा चलिरहेका उनी नजिककालाई उनी आफैं न्यायाधीश बनेर हतार–हतार चोख्याउने अभिव्यक्ति दिन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको पछिल्लो कदमले त नेपालको संविधानको मात्र धज्जी उडाएको छैन उनको निरंकुश, तानाशाही र अधिनायकवादी ‘जंगबहादुर शैली’ लाई उजागर गरेको छ ।

संसद चलिरहेको हुन्छ । प्रधानमन्त्री सभामुखलाई कुनै पत्तो नदिइकन संसद अधिवेशन बन्द गर्छन् र धमाधम ‘अध्यादेश शासन’ शुरु गर्छन् । एकातिर प्रधानमन्त्री आफ्ना हरेक भाषणहरुमा संवैधानिक सर्वोच्चता, बहुमतको शासन, शक्ति पृथकीकरणको सिद्धान्तको रटान लगाउन कहिल्यै थाक्दैनन् ।

तर, उनै प्रधानमन्त्री संविधानलाई क्षतविक्षत बनाउन र बहुमतलाई पंगु बनाउन निरन्तर उद्दत छन् । कार्यपालिका, न्यापालिका र व्यवस्थापिकाका प्रमुखहरुको समन्वय, सन्तुलन र नियन्त्रणमा रहने संवैधानिक परिषदलाई उनले अध्यादेश मार्फत् प्रधानमन्त्रीको निजी सचिवालयमा परिणत गरिदिएका छन् ।

पार्टीको उपल्लो निकायको बैठक चलिरहेको हुन्छ । प्रधानमन्त्री पार्टीलाई कुनै सुइको नदिइकन जताभावी अध्यादेश जारी गर्छन् । हुँदाहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको पछिल्लो कदमले त नेपालको संविधानको मात्र धज्जी उडाएको छैन उनको निरंकुश, तानाशाही र अधिनायकवादी ‘जंगबहादुर शैली’ लाई उजागर गरेको छ ।

इतिहासका पांग्रालाई पछाडि फर्काउने गरी शुरु गर्न खोजिएको यो अभ्यास निकै भद्दा, कुरुप र क्रुर देखिँदै जान थालेको छ ।

कम्युनिष्ट आन्दोलनमा कलंकको टीका

‘एक युगमा एक दिन एकपटक आउँछ’ भन्ने चर्चित गीत जस्तै नेपालमा कम्युनिष्टहरुको दुईतिहाइ बहुमत आएको थियो । इतिहासको एउटा युग अर्थात ०१५ सालमा बीपी कोइराला नेतृत्वको कांग्रेसले पनि दुईतिहाइ मत ल्याएको थियोे । स्थापनाको ६८ वर्षसम्म नेपालमा कम्युनिष्ट पार्टी एक्लै अथवा यसका कुनै पनि घटकले दुई तिहाइको त कुरै छाडौं, सामान्य बहुमत समेत पनि ल्याएको थिएन ।

तर, वि.सं.२०७४ सालको आम निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर झण्डै दुई तिहाइ नजिकको दुर्लभ बहुमत प्राप्त भएको थियो । सामान्यतया समानुपातिकसहितको मिश्रित निर्वाचन प्रणालीमा बहुमत ल्याउन नै हम्मेहम्मे पर्छ । तर, त्यस स्थितिमा पनि दुई तिहाइ नजिक पुग्ने कुरा आफैंमा चमत्कारिक र ऐतिहासिक नै थियो । तर, बिडम्बना कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत रहेको त्यो संसदलाई सनकको भरमा कम्युनिष्ट पार्टीकै एक अध्यक्षले कत्लेआम गरिदिए । वि.सं. २०१७ सालमा कांग्रेसले दुई तिहाइ ल्याएको संसदलाई त राजाले भंग गरेका थिए । तर, दुर्भाग्य यसपटक कम्युनिष्टको दुई तिहाइ रहेको प्रतिनिधि सभा कुनै राजा महाराजाले हैन, स्वयं कम्युनिष्ट पार्टीकै अध्यक्षले स्वाहा पारिदिए ।

अवश्य पनि प्रधानमन्त्री ओलीमाथि पार्टीभित्र र बाहिरबाट केही ज्वलन्त प्रश्नहरु उठेकै थिए । इतिहासले सोधेका ती यक्ष प्रश्नहरुको जवाफ दिने तत्परता जरुर उनले देखाउनुपर्थ्यो । तर त्यस दायित्वबाट भागेर उनले पार्टी र संसद दुबैलाई छल गरे ।

पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल लगायतका सबै निकायमा बहुमत गुमाइसकेपछि या त उनले बहुमत हासिल गर्ने प्रयास गर्नुपर्थ्यो या त मार्ग प्रशस्त गर्नुपर्थ्यो । त्यो दुबै नगरेर उनले विध्वंशको बाटो रोजे । सिंगो पार्टीका आम नेता, तमाम कार्यकर्ता र लाखौंलाख जनताले जुटाएको जनमतलाई उनी एक्लैले धज्जी उडाइदिए ।

यस परिघटनासँगै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पार्टी विभाजनको पीडादायी नियती व्यहोर्न अभिसप्त भएका छन् । यसबाट नेपालको कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा ठूलो धक्का पुगेको छ । हजारौं कार्यकर्ताहरुको रगत, आँसु र पसिनाको ठूलो उपहास र अवमूल्यन भएको छ । दुई तिहाइ मत दिएर जनता र कार्यकर्ताले जुटाएको पार्टीलाई सनकको भरमा एकजना व्यक्तिले फुटाइदिएका छन् । यो नेपालको राजनीतिक विकास र कम्युनिष्ट आन्दोलनको विकासमा एउटा कालो धब्बा हो । भनिन्छ इतिहासले सिक्नलाई वाध्य गर्दैन, तर नसिक्नेहरुलाई दण्डित गर्दछ । इतिहासवाट पटक्कै नसिकेर प्रतिगमनकारी कदम चाल्नेहरुलाई समयले अवश्य दण्डित गर्नेछ । दण्डित जो भए पनि क्षति अन्ततः कम्युनिष्ट आन्दोलनले नै व्यहोर्ने छ ।

लोकतन्त्रमाथि मडारिएको कालो बादल

इतिहासमा जबजब जननिर्वाचित संसद अल्पायुमा नै विघटन गरिएको छ, तबतब लोकतन्त्रमाथि कालो बादल लाग्ने गरेको छ । ०१५ सालको संसद विघटनपछि मुलुक पञ्चायती कालरात्रीतर्फ प्रवेश गर्‍यो । ०५८ सालको संसद विघटनको जगमा तत्कालीन ज्ञानेन्द्र शाहीको निरंकुश शासनले फंडा फिँजायो ।

आज २०७७ सालको संसद विघटनपछि अतिवादी र प्रतिगामी शक्तिहरु फेरि टाउको उठाउने दुष्चेष्टा गर्न थालेका छन् । जनप्रतिनिधिमूलक संस्थाको विघटनसँगै एकातिर प्रतिगामी शक्तिहरु सल्बलाउन थालेका छन् भने अर्कोतिर परिवर्तनका उपलब्धिहरुमाथि गिद्धे दृष्टि शुरु भएको छ । ‘राजा आऊ देश बचाऊ’ भन्ने अतिवादी शक्तिहरुले यस परिस्थितिलाई आफ्नो अनुकूलतामा बदल्न प्रयासरत रहेको देखिन्छ ।

अर्कोतिर प्रधानमन्त्रीका अति निकटका कतिपय केन्द्रीय तहका नेताहरु संघीयता खारेज गर्नुपर्ने मतहरु श्रृङ्खलाबद्ध रुपमा सार्वजनिक गर्न थालेका छन् । अल्पमत र बहुमतको खेलमा प्रदेश सभा नै भंग गर्ने धम्की स्वयं प्रधानमन्त्री कार्यालयबाट आइरहेको छ ।

कुनैबेला ‘गणतन्त्रको लागि आन्दोलन गर्नु भनेको बयलगाढा चढेर अमेरिका जानु जस्तै हो’ भन्ने प्रधानमन्त्री स्वयंमाथि कतिपयले अनेक कोणबाट अविश्वास र आशंका गरिरहेका छन् । पछिल्लोपटक नेपालको औपचारिक नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने शब्द हटाउने कुराले थप संशय पैदा गरेकै छ । केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओली निकटका अति विश्वासप्राप्त नेता गोकुल बास्कोटाले संघीयता खासमा आफूहरुको एजेण्डा नै नभएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

यसैबीचमा प्रधानमन्त्री नजिककी नेतृ निरु पालले संघीयताविरुद्ध दुनियाँलाई झस्काउने कठोर अभिव्यक्ति सार्वजनिक गरेकी छन् । उनले आफ्नो सामाजिक सञ्जालको वालमा लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू आँट गर्नुस् ! संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसदको सिट १०५ र केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस् ! नेपाली जनताको मनमष्तिष्कमा सधैं बस्नुहुनेछ ।’

यी केही प्रतिनिधि भनाइ मात्र हुन् । त्यसो त हिजो स्वयं प्रधानमन्त्री ओलीले ‘संघीयतालाई वाध्य भएर मात्र स्विकार गर्नु परेको’ अभिव्यक्ति बेलाबेलामा दिँदै आउनुभएको जगजाहेरै छ । यी र यसखाले प्रवृत्तिका कारण धेरैले मानिसहरुको चिन्ता स्वाभाविक रुपमा बढेको छ । यसरी हेर्दा संसद विघटनको यो बज्रप्रहार वस्तुतः लोकतन्त्र माथिकै कालो धब्बा हो भन्दा अत्युक्ति नहोला ।

संवैधानिक सर्वोच्चताको हुर्मत

सशस्त्र जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको जगमा बनेको नेपालको संविधान परम्परागत संसदीय प्रणालीमा मात्र आधारित संविधान बिल्कुल हैन । हो, हिजो नेपाल अधिराज्यको संविधान ०४७ को धारा ५३ को उपधारा ४ मा प्रधानमन्त्रीको सिफारिसमा श्री ५ बाट संसद विघटन गर्न सकिबक्सनेछ भनेर प्रष्ट उल्लेख्य गरिएको थियो ।

तर, संविधानसभाबाट जारी भई समाजवादउन्मुख व्यवस्था भनेर लेखिएको यो संविधानमा केही पृथक व्यवस्थाहरु छन् । जसअनुसार यो संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार प्रत्यायोजन गरिएको छैन ।

प्रधानमन्त्रीले सनकको भरमा जतिसुकै बेला संसद विघटन गर्न सक्ने कारणले मुलुकमा राजनीतिक अस्थिरता छाएको र विकृति बढेको भन्दै सुविचारित ढंगले नै संविधानमा उक्त प्रावधान नराखिएको हो ।

नेपालको संविधानको धारा ८५ को उपधारा १ मा यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर उल्लेख गरिएको छ । तर बिर्सनै नहुने कुरा के छ भने धारा ८५ को संविधान बमोजिम विघटन हुन सक्ने अवस्थाका लागि सीधै धारा ७६ मा जानुपर्दछ । जसअनुसार सामान्यतया प्रतिनिधि सभामा बहुमत प्राप्त दलले सरकार बनाउनुपर्नेछ ।

कसैले बहुमत नल्याएमा दुई वा सोभन्दा बढी दलको बहुमतको समर्थन प्राप्त व्यक्तिले सरकार बनाउनुपर्ने प्रावधान छ । त्यो पनि हुन नसके ३० दिनभित्र विश्वासको मत पाउने गरी अल्पमत भए पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलले सरकार गठन गर्नुपर्नेछ । त्यो पनि हुन नसकेमा प्रतिनिधि सभाको कुनै सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार देखाएको खण्डमा त्यस्तो व्यक्तिलाई ३० दिनभित्र विश्वासको मत लिने गरी प्रधानमन्त्री बनाउनुपर्ने प्रावधान उल्लेखित छन् । यी सवै अवस्थाहरु नरहेमा मात्र प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन हुन सक्दछ ।

तर, प्रधानमन्त्री केपी ओलीले संसदमा सरकार बन्न सक्ने यी चारवटा छुट्टाछुट्टै अवस्थातर्फ कुनै दृष्टि नलगाई हठात् रुपमा गरेको संसद विघटन बिल्कुल असंवैधानिक छ । सारतः संविधानलाई मिच्दै, लोकतन्त्रलाई थिच्दै र पार्टी प्रणालीलाई किच्दै मुलुकलाई राजनीतिक अस्थिरताको भूमरीमा धकेल्ने प्रधानमन्त्रीको कदम पूर्णरुपमा प्रतिगमनकारी छ ।

यसरी राजनीतिक, संवैधानिक र लोकतान्त्रिक सबै दृष्टिले प्रधानमन्त्री ओलीको कदम निरंकुश र तानाशाही छ । तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुरको झल्को दिने गरी चालिएका उनका सबै कदमहरु सर्वसत्तावादी छन् । उनको यो उल्टो यात्रा हरहालतमा रोक्नु जरुरी छ ।

निर्वाचित बादशाहका रुपमा देखिन थालेका प्रधानमन्त्रीलाई दम्भ, अहंकार र चरम महत्त्वाकांक्षाको घोडाबाट अविलम्ब ओराल्नु जरुरी छ । यसका निम्ति संघर्षको आँधिबेहरी सृष्टि गर्नुपर्दछ । तबमात्र लोकतन्त्रमाथि लाग्न थालेको कालो बादल फाट्ने छ ।

(लेखक नेकपा निकट अनेरास्ववियूका नेता हुन् ।)

लेखक
सुरेन्द्र बस्नेत

(बस्नेत, राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?