Comments Add Comment

देशभरको मौसम बदली, काठमाडौंमा बाक्लो हुस्सु

२० पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावले सोमबार काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ ।

सोमबार विहानैदेखि उपत्यकामा घाम लागेको छैन र बाक्लो हुस्सु लागेको छ । घाम नलागेका कारण दिउँसोमा चिसो महसुस भएको छ ।

आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र यो आउँदो बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

दिउँसो घाम नलागेका कारण चिसो बढेजस्तो महसुस भए पनि काठमाडौं उपत्यकाको न्युनतम तापक्रम भने बढेको छ । पुस १६ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री रहेकोमा पुस १९ गते २.५ डिग्री सेल्सियस रह्यो । सोमबार भने न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस पुगेको नगरकोटीले जानकारी दिइन् ।

‘पश्चिमी वायु आउँदा यसले आकाश ढाकेर आउने भएकोले दिनभरिको तापक्रमलाई वायुमण्डलमा धेरै टाढा जान दिँदैन । त्यसैले सोमबार न्युनतम तापक्रम बढेको हो’ नगरकोटीले भनिन् ।

मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । जुन दिउँसो ३ हजार मिटर थियो । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको नगरकोटीले जानकारी दिइन् ।

हल्का मात्रै वर्षा हुने

मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने भने सम्भावना छैन । सोमबार काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment