Comments Add Comment

सीमामा अवैध रुख कटान गर्दा भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली !

२१ पुस, कञ्चनपुर । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।

‘घटनास्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ, फलामको आरा पनि त्यहीँ छ’, थापाले भनेका छन्, ‘त्यसैले भारतीय पक्षको दाबी बलियो देखिएको छ ।’

घाइते सुनारलाई गएराति नै प्रहरीले महाकाली अस्पताल भर्ना गरेको छ । सुनारले भने बजारबाट सामान किनेर फर्कँदै गरेको अवस्थामा आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।

काठ तस्करीमा घाइते सुनार बाहेक अन्य दुई जना पनि संलग्न देखिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान सम्पर्कमा आएका सोही ठाउँका बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको थापाले बताए ।

घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भइरहेको जानकारी पाइएको जनाएको छ । ‘यहाँ धेरै रुख काटिएका छन्’, दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने, ‘हामी पुगेर हेर्दा बन फडानी रोक्ने क्रममा गोली चलेको देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment