Comments Add Comment

लम्बोदर न्यौपाने प्रकरणको अनुसन्धान प्रतिवेदन दोस्रो पटक सरकारी वकिलमा

विद्यार्थी नेतासहित थप तीन जना पक्राउ

२१ पुस, काठमाडौं । भक्तपुर इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले दोस्रो पटक सरकारी वकिलको कार्यालय, भक्तपुरमा बुझाएको छ । प्रकरणमा थप तीन जनालाई समेत पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

ब्युरोका एसपी वेलबहादुर पाण्डे भन्छन्, ‘ठगी र कीर्ते सम्बन्धी कसुरमा थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरी प्रतिवेदन बुझाएका छौं ।’ उनका अनुसार पक्राउ पर्नेमा नेकपाका विद्यार्थी नेता गंगबहादुर राउत, पोखरा विश्वविद्यालयका लेखापाल चोलाकान्त चुहाइँ र पूर्वलेखापाल रामकुमार श्रेष्ठ छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार राउतले कलेजबाट पटकपटक हस्ताक्षर गरेर चन्दा लिएको पाइएको छ भने पोखरा विश्वविद्यालयका दुई लेखापालले न्यौपाने लगायतलाई कीर्ते गर्ने कार्यमा सघाएको पाइएको छ ।

प्रहरीका अनुसार चुहाइँ र श्रेष्ठ कलेजको विधान २०५१ (संशोधनसहित २०५६) को दफा ३.१ को ‘ग’ मा रहेको ‘यो मुनाफा रहित उद्देश्यले स्थापना गरिएको छ’ भन्ने वाक्यांशलाई हटाएर विधान फेर्ने कार्यमा सरिक भएको पाइएको छ ।

यसअघि पुस पहिलो साता जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै ब्युरोको प्रतिवेदन फिर्ता पठाइदिएको थियो भने न्यौपानेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । त्यसपछि थप व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको हो ।

ब्युरोका एसपी पाण्डेले अहिले सम्पूर्ण अनुसन्धान पूरा गरेर मिसिल बुझाइएकाले फिर्ता नहुने विश्वास व्यक्त गरे ।

यसअघि न्यौपानेका भाइ निर्मलले आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा समेत बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।

तर, २९ मंसिरमा अदालतले न्यौपानेको रिट खारेज गर्दै अनुसन्धान अघि बढाउन ब्युरोलाई निर्देशन दिएको थियो ।

न्यौपानेले सर्वोच्च अदालतमा स्वामित्वको मुद्दा विचाराधीन भएको अवस्थामा सीआईबीले ठगीमा अनुसन्धान गर्न नमिल्ने दाबी गर्दै रिट निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस सरकारी वकिलले छाड्यो लम्बोदर न्यौपानेलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment