Comments Add Comment

कोहलपुर ओपन क्रिकेट : आयोजक केसीए, च्याम्पियन्स र बी एण्ड बी क्वाटरफाइनलमा

२१ पुस, कोहलपुर । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन सम्पन्न तीन खेल सम्पन्न भएका छन् ।

बी एण्ड बी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलहरु जित्दै च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बीबी वारियर्स विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४.५ ओभरमा पुरा गर्‍यो ।

च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो । रनियारपुरको लागि इरफान खानले सर्वाधिक २९ रन, नफुस खानले २० रन बनाएका थिए । च्याम्पियन्सको बलिङमा सकिल खान र गोभिन्द बिस्टले समान २ विकेट लिए ।

खेलको प्लेयर फ द म्याच अलराउण्ड योगदान दिएका च्याम्पियन्स क्लबका सोम शर्मा चुनिए ।

दिनको दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए ) ले ढकेरी किंग्सलाई १३९ रनले पराजित गर्‍यो ।

कोहलपुरले पहिले ब्याटिङ गर्दै दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो । ढकेरीको लागि संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए । कोहलपुरको बलिङमा रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिंग गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

कोहलपुरको लागि शिव डाँगीले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ३७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। यस्तै विनायक गिरीले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए । सन्दिप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए ।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडमीका शिब डाँगी चुनिए ।

दिनको तेश्रो खेलमा बीबी वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्‍यो ।

बीबी वारियर्सले पहिले ब्याटिङ गर्दै दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४.१ ओभरमा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

रझेनाको ब्याटिङमा सौगात रानाभाटले सर्वाधिक २६ तथा प्रदिप बुढाले २१ रन बनाए । बीबी वारियर्सको बलिङमा आकाश विष्टले ४ विकेट तथा विशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको बीबी वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का हिर्काए । सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए । रझेनाको बलिङमा जानु कस्कर, सुमन थापा र घनश्याम रावतले समान २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच बीबी वारियर्सका आकाश विष्ट चुनिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि तीन वटा खेलहरु हुनेछन् । पहिलो खेलमा बिहान ८ बजे नेपालगञ्ज च्याम्प र युभीसीसी कोहलपुरले, दोश्रो खेलमा ११ बजे बीबीसीसी कीर्तिपुर र राझा स्पोर्ट्स क्लब तथा तेश्रो खेलमा १ बजे सम्झना स्पोर्ट्स क्लब र न्यु रोड-११ ले प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment