२२ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् । यो समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए ।
‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’, नेपालले भने । प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको उनले बताए । ‘यो गैरसंवैधानिक कदम सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध हो’, नेपालले भने ।
तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनले बताए । ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।
संविधान संशोधन गर्ने ठाउँ भए पनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्था चलाइन नदिइने नेपालले बताए ।
प्रतिक्रिया 4