Comments Add Comment

यति कार्पेट : दुर्घटनापछिको सुखद् पुनरागमन

२२ पुस, काठमाडौं । एउटा ठूलो औद्योगिक घरानाको व्यवसायिक यात्रामा ६ घण्टामा के–के बदलिन सक्ला ? स्वर्गीय शंकरलाल केडियाका माइला छोरा अनिल केडियाले जति यसको सबैभन्दा अनुभवसिद्ध जवाफ सायदै अरुले दिन सक्लान् ।

केडियाले २५ वर्ष मेहनत गरेर स्थापित बनाएको ‘यति कार्पेट’ उद्योग २०७४ असार ३ गते राति ६ घण्टामा खरानी भयो । केमिकल, डिजेल, फाइबर र तयारी कार्पेटमा सल्किएको आगोले यति कार्पेटको ‘ब्रान्ड नेम’ बाहेक केही बाँकी राखिदिएन ।

अनिल केडियाकै भाषामा भन्दा त्यो दुर्घटनापछि केही समय उनी ‘ब्ल्यांक’ (भावशून्य) जस्तो बन्न पुगेका थिए । उनको दैनिकी दिन यति कार्पेटको व्यवस्थापकीय कामबाटै सुरु भएर साँझ सकिन्थ्यो । उनले निजी विद्यालय लगायतका अन्य क्षेत्रमा लगानी विस्तार गरेपनि धेरै समय र मेहनेत भक्तपुरस्थित यति फेब्रिक उद्योगलाई दिन्थे ।

उद्योग जलेपछि पनि केडियालाई बिक्रेताहरुले सोधिरहे, ‘कहिलेबाट यति बजारमा आउँछ ? हरेकको प्रश्नले बजारमा यति कार्पेटको लोकप्रियता मात्र दर्साउँदैनथ्यो, फेरि उत्पादन थाल्न प्रोत्साहित पनि गर्थ्यो

मेहनेतको परिणाम, आन्तरिक रुपमा उत्पादित नेपाली कार्पेटको बजारमध्ये ७० प्रतिशत हिस्सा यति कार्पेटले लिएको थियो । आगलागी हुँदा यतिको बिक्रीदर वार्षिक २० प्रतिशतले बढिरहेको थियो । अरु १० वर्ष बजारमा ठूलो प्रतिस्पर्धा बिनै जम्ने अवस्था थियो ।

बढ्दो शहरीकरण र रेमिट्यान्स आप्रवाहले घर–घरमा फेब्रिक कार्पेटको माग बढ्दो दरमा रहेकाले उद्योगलाई बजारको समस्या थिएन । आयातित कार्पेटको तुलनामा कम मूल्यमा उच्च गुणस्तर र ३६ वटा विकल्पसहितका रङका कारण यति थुप्रै मध्यमवर्गीय शहरीया परिवारको रोजाइ बनेको थियो ।

लगानी थपेर विदेशी बजारसम्म पुग्ने लक्ष्यका साथ उद्योगमा प्राविधिक स्तरोन्नतीको तयारी हुँदै गर्दा आगलागी भइदियो । बलियो बनिसकेको एउटा उद्योग ६ घण्टामा सखाप भएपछि केडियाको चिन्ता थियो–अब उठ्ने कसरी ? उनी भन्छन्, ‘बुबाको पैसा चोरिएको घटना सम्झिएर सम्हालिने अठोट लिएँ ।’

निकै अघि बाराको सिमरा विमानस्थलमा पाकेटमारले शंकरलाल केडियाको गोजीबाट रकमको गड्डी उडाएको थियो । ठूलै रकम हराएकोमा आमाले गाली गर्दा शंकरलालले भनेका थिए, ‘मैले पनि जान–अन्जानमा कतिलाई हानी पुर्‍याएको हुँला र त्यस्तो कुनै पापको सजाय भुक्तान भयो भन्ने मानिदिनुस् ।’

आध्यात्ममा विश्वास गर्ने बुबाले रकम हराएको घटनलाई सहजै बिर्सिएर अगाडि बढेको सम्झिँदै उनी भन्छन्, ‘मैले पनि ठानेँ कि जिन्दगीमा कतिलाई जानी–नजानी हानी पुर्‍याएँ होला, भगवानले त्यसको भुक्तान गरिरिदनुभयो, हिसाव बराबर ।’

उनले चित्त त बुझाए, आगलागीका कारण केडिया परिवारले एकै झड्कामा करोडौं गुमाएको थियो । उद्योग नजल्दासम्म ‘यति कार्पेट’ नेपाली औद्योगिक कार्पेटको अर्को नाम थियो । यो घटनापछि यति कार्पेटको बजार अरुले लिए ।

यतिको पुनरागमन

उद्योग जलेपछि पनि केडियालाई बिक्रेताहरुले सोधिरहे, ‘कहिलेबाट यति बजारमा आउँछ ?

हरेकको प्रश्नले बजारमा यति कार्पेटको लोकप्रियता मात्र दर्साउँदैनथ्यो, फेरि उत्पादन थाल्न प्रोत्साहित पनि गर्थ्यो। ‘अहसज परिस्थितिलाई अवसरमा बदल्नुपर्ने अवस्था थियो’, केडिया भन्छन्, ‘भक्तपुरको करिब ५ रोपनी जग्गामा रहेको उद्योगलाई नयाँ स्वरुप दिँदै अगाडि बढ्ने सोच बनाएँ ।’

जमिन कम भएर उत्पादन र भण्डारणमा समस्या हुँदा हुँदै पनि उनले २५ वर्षदेखि चलिरहेको उद्योग सार्न चाहेनन् । तर, उद्योग खोल्दा खेतैखेत रहेको त्यो क्षेत्रमा पुरै बस्ती विकास भइसकेको थियो । त्यहीँ उद्योग बिस्तार गर्न खोज्नु पनि सही निर्णय नहुने सोचेर केडियाले यति कार्पेटलाई तराईबाट पुनर्जन्म दिने निर्णय लिए ।

‘जग्गा र प्राविधिक जनशक्तिको उपलब्धता, कच्चा पदार्थ आपूर्ति, तयारी कार्पेट ढुवानी, बिक्रीवितरण लगायत हिसावले वीरगञ्ज–सिमारा औद्योगिक करिडोर उपयुक्त हुने देखियो’, उनी भन्छन् ।

त्यसरी बाराको जीतपुर–सिमारा नगरपालिका क्षेत्रमा ६५ रोपनी जग्गामा दुईवटा ठूला प्लान्ट लगाइएपछि सुरु भयो, यति कार्पेटको पुनरागमनको दिनगन्ती । अहिले त उद्योगले बजारमा यति कार्पेट पठाउन थालिसकेको छ ।

करिब ५० करोड लगानीमा जर्मन प्रविधि अपनाएको उद्योगले उत्पादनमा ‘भेराईटी’ पनि थपेको छ । उद्योगपूर्ण स्वचालित र कम्युटराइज्ड छ । उत्पादन क्षमता दुई गुणा बढाएको केडिया बताउँछन् । मूल्य, रंग, उपयोग अनुसार प्रतिवर्गमिटर एकसयदेखि दुईहजार रुपैयाँसम्मका यति कार्पेट बजारमा आउन थालेको छ ।

यतिको विरासत र विस्तार

करिब डेढसय वर्षअघि काठमाडौं पसेका रामकुमार साहुले कालीमाटी क्षेत्रमा थालेको व्यापार उनका छोरा महावीरप्रसाद बिर्जुलाल र नाती शंकरलाल केडियाले फैलाए ।

त्यतिबेला मारबाडी समुदायले माछामासु, मदिरा, होटलजस्ता व्यवसायमा हात हाल्न हुँदैन भन्ने मान्यता थियो । त्यसैले, शंकरलालले जुत्ता, साडी, स्टिल, कार्पेट व्यापारलाई मुख्य पेशा बनाए । केडिया परिवारले सन् १९९३ मा यति फेब्रिक उद्योग पनि खोले, जुन दुई वर्षभन्दा बढी चल्न सकेन ।

१९९५ मा अनिल केडिया ‘अन्डर ग्राजुएट’ भएर बम्बईबाट फर्किए । उनले त्यसलाई चलाउने निर्णय लिए । उनले बन्द भएको उद्योगमा मौज्दात कार्पेटलाई नै पुँजीका रुपमा उपयोग गरे । ‘उद्योगमा राजु टिबडेवाल पनि साझेदार थिए’, उनी सम्झन्छन्, ‘त्यसबेला हामीले ‘सुन्दर’ ब्रान्डको कार्पेट बजारमा ल्यायौं ।’

तर, उद्योगको नाम ‘यति फेब्रिक’ भएकाले केडियाले ब्रान्डको नाम पनि यति नै बनाउने निर्णय लिए । त्यसबेला उत्पादनको प्रचार गर्ने प्रचलन खासै नभएपनि उनले त्यसमा जोट दिए । ‘पसलहरुमा बोर्ड लगायौं’, केडिया भन्छन्, ‘पसलहरुले पनि उत्पादन राम्रो छ भन्दै प्रचार गरे, हामीले गुणस्तर दियौं ।’

त्यतिबेला नयाँ उद्योग खोल्न चार करोड जति खर्च गर्दा हुल्थ्यो । यति कार्पेटमा भने पुरानो ऋणका कारण ७ करोड जति लगानी भइसकेको थियो । उद्योग चलाउन थालेका तीनवर्ष नबित्दै टिबडेवाल बाहिरिएर नयाँ उद्योग खोले । ‘टिक्न गाह्रो भइरहेका बेला नयाँ उद्योग आएपछि मलाई अब सकिँदैन कि भन्ने पनि लाग्यो,’ केडिया भन्छन्, ‘तर, उहाँसँग अस्वस्थ प्रतिस्पर्धा नगर्ने सहमति भयो, बजारको लागि झगडा गरेनौं ।’

त्यसपछि आक्रामक बजारीकरण नीति लिएर उनले कम्पनीलाई नाफामा लिएर गए । २५ वर्षसम्म मुख्य डिलर नफेरेर बजारमा कम्पनीको विश्वासबलियो बनाएको उनी बताउँछन् । उनले ‘धेरै पैसा दिन्छु’ भन्दै आएकालाई डिलरसिप नदिई पुरानैलाई राखिरहेँ । सुरुमा कार्पेटको मुख्य बजार काठमाडौं नै थियो । त्यसपछि विस्तारै अन्य शहरमा पनि माग बढ्न थाल्यो । यतिको बजार बढेसँगै कतिपय सेगमेन्टका कार्पेट आयात हुनै रोकियो ।

‘दिग्गज छौं भनेर बस्दैनौं’

लामो र बलियो बिरासत बोकेपनि यति कार्पेटलाई फेरि बजारमा आउँदा चुनौती बढेको केडिया बताउँछन् । ‘तर, हामी विरासत र ब्रान्ड भनेर मात्रै बस्दैनौं,’ उनी भन्छन्, ‘प्रविधिको जमाना छ, प्रतिस्पर्धा उच्च छ, त्यसलाई ध्यानमा राखेर गुणस्तर प्रत्याभुत गर्दै बजार रणीनीति बनाउँछौं ।’

बजार र मूल्य कता जाँदैछ भन्नेमा सजग रहेको उनी बताउँछन् । ‘आयातमा पनि संलग्न भएकाले यसबारे जानकार छौं’, केडिया भन्छन्, ‘दिग्गज छौं भनेर मात्र हुँदैन भन्ने हामीले बुझेका छौं ।’

उनी कम्पनीमा नयाँ प्रविधि र व्यवस्थापकीय टिमको कमी हुन नहुनेमा स्पष्ट छन् । ग्राहकलाई ‘लोयल’ बनाइराख्ने र विशेष सेगमेन्टमा साख बचाउने उनको रणनीति छ । ‘यति कार्पेटमाथि जन्मेर, खेलेर हुर्किएहरु अहिले ३० वर्षका युवा छन्, त्यसैले यति कार्पेट संस्कृतिजस्तो भइसकेको छ,’ केडिया भन्छन्, ‘त्यसलै पनि हामीलाई बजारमा माया गरिन्छ भन्नेमा विश्वस्त छौं ।’

भिडियोः शंकर गिरि/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment