
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता विद्युत जामवालले हलिउडमा आफ्नो डेब्यु 'स्ट्रिट फाइटर' फिल्ममा ढलसिमको भूमिका निर्वाह गर्ने तयारीमा छन्।
- यो फिल्म प्रसिद्ध भिडियो गेम फ्रान्चाइजीमा आधारित छ र विश्वव्यापी मार्शल आर्ट प्रतियोगिताको वरिपरि घुम्ने बताइएको छ।
- फिल्ममा जामवालसहित एन्ड्रयू कोजी, नोआह सेन्टिनियो, जेसन मोमोआ लगायतका कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिनेछन्।
मुम्बई । बलिउड अभिनेता विद्युत जामवाल हलिउडमा डेब्यु गर्ने तयारीमा छन् । उनले धेरै हिन्दी फिल्म गरे तर समकालिन कलाकारले जति लोकप्रियता पाएनन् ।
उनी अब काम गराइको शैली र स्वाद बदल्ने तयारीमा छन् । ‘कमाण्डो’ अभिनेताले लेजेन्डरी इन्टरटेनमेन्टको आगामी लाइभ-एक्सन ’स्ट्रिट फाइटर’ फिल्ममा ढलसिमको भूमिका निर्वाह गर्ने बताइएको छ ।
यो फिल्म प्रसिद्ध भिडियो गेम फ्रान्चाइजीमा आधारित छ । रिपोर्टका अनुसार, यो फिल्म हलिउडमा उनको डेब्यु हुनेछ ।
जामवाल मार्शल आर्ट प्रेमी हुन् । उनले धेरै फिल्ममा यसको प्रदर्शन पनि गरिसकेका छन् । उनको हलिउड डेब्युमा पनि मार्सल आर्टको कला देख्न पाउने अपेक्षा प्रशंसकले गरेका छन् ।
फिल्ममा उनले निर्वाह गरेको ढलसिमको चरित्र सस्पेन्सले भरिएको छ । उनलाई पहिलो पटक सन् १९९१ मा ’स्ट्रिट फाइटर २’ मा देखाइएको थियो । यो चरित्रले परिवारको रक्षाको लागि संसारसँग युद्ध गर्छ ।
फिल्ममा जामवालबाहेक एन्ड्रयू कोजी, नोआह सेन्टिनियो, कालिना लियाङ, डेभिड दस्तमाल्टियन, कोडी रोड्स, जेसन मोमोआ, कर्टिस ज्याक्सन, ओर्भिल पेरेज, रोमन रेन्स र हर्की गोटो विभिन्न महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
फिल्मको कथा अझै तय भइनसकेको बताइएको छ । तर ’स्ट्रिट फाइटर’ एक विश्वव्यापी मार्शल आर्ट प्रतियोगिताको वरिपरि घुम्छ जहाँ विश्वभरका योद्धाहरू एकअर्कासँग लड्छन् ।
यो फिल्मले नयाँ पुस्ताका फ्यानलाई फरक तरिकाले कल्ट फ्रान्चाइजी प्रस्तुत गर्ने जनाइएको छ । योसँगै जामवाल हलिउडमा आफ्नो भाग्य खोज्ने बलिउडका अन्य कलाकार इशान खट्टर, दीपिका पादुकोण, आलिया भट्ट जस्ता स्टारहरूको सूचीमा सामेल भएका छन् ।
प्रतिक्रिया 4