Comments Add Comment

खेलकुद मन्त्रीलाई खेलाडी संघको ६ बुँदे ध्यानाकर्षण पत्र

२२ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआईपीएको टोलीले बुधबार मन्त्रालयमा पुगेर मन्त्री तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघले विभिन्न ६ बुँदे माग समावेश गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरी यथासम्भव उपलब्ध गराइनु पर्ने लगायत मागहरु समेटिएका छन् ।

खेलाडीले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता चालु आर्थिक वर्ष २०७७/०७८ यता रोकिएको छ । जसले गर्दा नेपालमै आयोजना भएको १३ औं सागमा ५१ स्वर्ण जित्ने खेलाडीले प्रोत्साहन भत्ता पाउन सकेका छैनन् ।

सागको पनि स्वर्ण जित्ने खेलाडीले मात्र प्रोत्साहन भत्ता पाउँदै आएकोमा संघले ध्यानाकर्षण पत्रमा सागका रजत तथा कास्य पदक विजेताका लागि समेत प्रोत्साहन भत्ताको विषयमा छलफल अघि बढाउनुपर्ने माग राखेको छ ।

यस्तै नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल लिनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र प्रशिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका वातावरण तयार गरिनु पर्ने लगायतका माग रहेको छ ।

यसैगरी देशको गौरव प्रतिष्ठा बढाउन योगदान पुर्‍याउने खेलाडीहरुलाई कदर स्वरुप सम्बन्धित कार्यविधि अनुसार राष्ट्र प्रमुखको तर्फबाट प्रदान गरिने विभुषणद्वारा विभूषित गर्न उचित व्यवस्था गर्नुपर्ने माग पनि समावेश छ ।

साथै खेलाडीहरुको भविष्य सुनिश्चित हुने नीति अवलम्बन गर्ने कुराहरु समयम समयमा भएता पनि नीतिगत रुपमा नै कुनै पनि ठोस निर्णय तथा व्यवस्था नभएको प्रति संघले ध्यानाकर्षण गराएको छ । राष्ट्रका लागि पदक प्राप्त गर्ने खेलाडीहरुको विषयगत योग्यता अनुसारको रोजगारी सिर्जना गरी नयाँ पीढीलाई हौसला प्रदान गर्नु पर्नेमा समेत सं‌घले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment