News Summary
Generated by OK AI. Editorially reviewed.- बाइनान्समा साइबर हमला भई प्रयोगकर्ताको वालेटबाट करिब ५ अर्ब ७० करोडदेखि ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको छ।
- बाइनान्सले निक्षेप र रकम झिक्ने प्रक्रिया रोक्दै अनुसन्धान सुरु गरेको छ र करिब ३ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति फ्रिज गरिएको छ।
- पोलिमार्केटमा पनि साइबर हमला भई कम्तीमा २७ लाख डलर चोरी भएपछि कारोबार एक घण्टाका लागि स्थगित गरिएको छ।
१३ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स माथि साइबर हमला भई प्रयोगकर्ताहरूको वालेटबाट अर्बौं डलर चोरी भएको छ ।
समाचार एजेन्सीहरुका अनुसार बाइनान्सबाट करिब ५ अर्ब ७० करोडदेखि ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको हो । क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो सम्भावित डकैतीको बाइनान्सले अनुसन्धान सुरु गरेको छ ।
अक्टोबर महिनाभरि शृङ्खलाबद्ध रूपमा भएका ठूला साइबर हमला, एआई निर्मित प्राविधिक त्रुटि (बग्स) र डेटा चोरीका घटनाहरूबिच यो समाचार सार्वजनिक भएको हो । जसका कारण प्राविधिक क्षेत्रमा यस महिनालाई ‘ब्ल्याक अक्टोबर’ भन्न थालिएको छ ।
इन्जिनियरको ल्यापटप ह्याक र ६.३ अर्ब डलरको क्षति
अन–चेन विश्लेषकहरू र क्रिप्टो बजार ट्र्याक गर्ने संस्थाहरूका अनुसार बिहीबार दिउँसो बाइनान्सको वालेटबाट अचानक अर्बौँ डलरका अनधिकृत ट्रान्सफरहरू भएका थिए ।
बाइनान्सको प्रारम्भिक अनुसन्धान अनुसार एक वरिष्ठ डेभअप्स इन्जिनियरको ल्यापटप ह्याक गरी आक्रमणकारीहरूले सर्भरमा पहुँच पुर्याएर अनधिकृत रूपमा रकम स्थानान्तरण गरेका थिए । यद्यपि, वालेटको प्राइभेट की भने सुरक्षित रहेको बताइएको छ ।
घटनालगत्तै बाइनान्सले निक्षेप तथा रकम झिक्ने प्रक्रिया स्थगन गरेको थियो । त्यसपछि टेथर र सर्कल जस्ता प्रमुख स्टेबलकोइन कम्पनीहरूसँगको सहकार्यमा ह्याकरहरूले लगेकामध्ये करिब ३ अर्ब डलर (३०० करोड डलर) बराबरको क्रिप्टो सम्पत्ति ब्लक/फ्रिज गर्न सफलता मिलेको छ ।
बाइनान्सका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी चाङपेङ झाओले एक्समार्फत ग्राहकहरूको कोष सुरक्षित रहेको र बाइनान्सले आफ्नो आपत्कालीन सुरक्षित कोष तथा ब्यालेन्स सिट प्रयोग गरेर शतप्रतिशत क्षतिपूर्ति दिने बताएका छन् ।
क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो डकैती
यदि आधिकारिक रूपमा पुष्टि भएमा, यो घटना क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो हमला मानिनेछ । यसअघि सन् २०२५ मा उत्तर कोरियालीसँग जोडिएका ह्याकरहरूले ‘बाइबिट’ एक्सचेन्जबाट करिब १ अर्ब ५० करोड डलर चोरी गरेका थिए, जुन रेकर्डलाई यो घटनाले धेरै पछाडि पारिदिएको छ ।
क्रिप्टो क्षेत्रका विश्लेषकहरूका अनुसार साना एक्सचेन्जहरूमा यति ठूलो हमला भएको भए ती संस्था नै टाट पल्टिने जोखिम हुन्थ्यो । तर, बाइनान्सको विशाल क्षमता र बिमा व्यवस्थाका कारण यसले उपभोक्तालाई क्षतिपूर्ति दिन सक्ने भए पनि, समग्र क्रिप्टो बजारमा बिटकोइन लगायतका डिजिटल मुद्राको मूल्यमा भने गिरावट आएको छ ।
पोलिमार्केट माथि पनि आक्रमण
बाइनान्समाथिको आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै विकेन्द्रिकृत भविष्यवाणी बजार ‘पोलिमार्केट’ माथि पनि साइबर हमला भएको थियो ।
थर्ड–पार्टी वेबसाइट अनुगमन प्रणाली ‘डेबगबियर’ को कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले पोलिमार्केटका प्रयोगकर्ताहरूको कम्तीमा २७ लाख डलर चोरेका थिए । जसका कारण पोलिमार्केटले एक घण्टाका लागि कारोबार स्थगित गर्नुपरेको थियो ।
अक्टोबर महिनाभर भएका यी शृङ्खलाबद्ध साइबर हमलाहरूका पछाडि कुन आपराधिक समूह वा राष्ट्रको हात छ भन्नेबारे अमेरिकी तथा अन्तर्राष्ट्रिय अनुसन्धान एजेन्सीहरूले सुक्ष्म अध्ययन गरिरहेको जनाएका छन् ।
प्रतिक्रिया 4