Comments Add Comment
घुमफिर ब्लग :

माथि माथि शैलुङ्गेमा…

माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई

हत्केलामा मायाँको गुराँस फुलाउनेलाई

भन्दिनु है भन्दिनु

मेरो चुल्ठो खाली छ, उनको त्यो मनै जाली छ…

शनिबार बिहानै काठमाडौंको बानेश्वरबाट दोलखाको शैलुङका लागि सोझिएको यात्राका दौरान गाडीमा बजेको यही गीतले एकाएक हामीलाई उत्साहित बनायो । कुन्ती मुक्तानको स्वरमा सजिएको यो गीत शैलुङको चिनारीका लागि पर्याप्त थियो । जसलाईं स्वीकार गर्छन, शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल ।

‘हामी यो गीतको सर्जकसँग नतमस्तक छौं’, उनले भने, ‘हाम्रो रमणीय भूमिलाई परिचित गराउन यो गीतको ठूलो भूमिका छ ।’ हामीले सानैदेखि सुनेको तर, पाइला टेक्न नपाएको यसै भूमिको यात्राका लागि सञ्चारकर्मीको एक टिम बनेको जानकारी सञ्चारकर्मी ज्ञानेन्द्र कार्कीले गराए ।

गाउँपालिकासँगको समन्वयमा काठमाडौंबाट एक दर्जन संचारकर्मीको टिम शनिबार शैलुङ चुम्ने अभिलासा बोकेर दोलखातर्फ हुँइकियो । टिममा फोटो पत्रकारको बाहुल्य थियो । टोलीका सबै सदस्यको एउटै जिज्ञासा थियो, शैलुङमा हिउँ परे होला की नहोला ? शैलुङबाट खुलेका हिमाल देख्न पाइएला की नपाएला ?

काठमाडौंबाट दुई वटा गाडीमा दोलखातर्फ हुँइकिएका हामी दिउँसो १२ बजेतिर सिन्धुपाल्चोकको सिम्लेमा खाना खान झर्‍यौं । यो टोलीमा टोली नेता कार्की मात्र थिए, जो शैलुङ पटक-पटक पुगेका थिए । अन्य सबैका लागि नौलो गन्तब्य थियो ।

नेपालको चर्चित गीतले वर्णन गरेझै माथि-माथि शैलुङेसम्म पुगी यसको मनमोहक वातावरणमा हराउने मोहकाबीच हामी सिम्लेबाट अगाडि बढ्यौं । खाडीचौर हुँदै उकालो लाग्दा झल्याकझुलुक देखिने हिमाल अवलोकन गर्दै हामी सिन्धुपाल्चोकको चर्चित मुडे बजार पुग्यौं । मुडे आलुका लागि नेपालभर प्रख्यात छ । तर, अफसिजनमा भने मुडेले पनि आलु आयात गर्नुपर्छ । किनकी नेपालमा स्तरीय चिस्यान केन्द्र छैनन् । अर्कोतर्फ मुडे कालिञ्चोक र शैलुङका चौरीखर्कमा बनेको छुर्पी बिक्रि हुने परिचित बजार पनि हो । दोलखाबाट र्फकने जो कोहीले यही बजारमा गाडी रोकेर छुर्पी कोसेलीका रुपमा बोक्छन् ।

मुडेबजारबाट दाहिनेतर्फ ओर्लिएसँगै पक्की सडकको यात्रा सकियो । पहिलो दिन शैलुङ गाउँपालिकाको भैँसेलाई गन्तब्य बनाएर हामी कच्ची सडकको रोचाञ्चक यात्रा गर्दै अगाडि बढ्यौं । यो सडकमा वर्षा यामको यात्रा निकै सकसपूर्ण हुन्छ । गाडी हिलोमा फसेर घन्टौं लामो जाम पनि हुन्छ । तर, हिउँदमास र त्यसमा पनि हिँउसमेत नपरेका कारण यात्रा रोमाञ्चक नै थियो । बीच-बीचमा बुरुक्क गाडी उफ्रदाँ टाउको जोगाउनु पर्नेबाहेक नेपाली सेनामा १० वर्ष सेवा गरी जागिर छाडी गाडी चलाउन थालेका अनुभवी चालक शंकर महर्जनले यात्रामा कुनै पनि कठिनाई उत्पन्न हुन दिएनन् ।

गाउँका डाक्टर भोजराज सरको होमस्टे

शनिबार पहिलो दिन हामी शैलुङ गाउँपालिका वडा नं ८ स्थित भैंसे पुग्यौं । यहाँको दाङ भन्ने स्थानमा ‘गाउँका डाक्टर’ भोजराज आचार्यको होमस्टे पाहुनाको स्वागतका लागि तयार थियो । आचार्यको जन्म खोटाङमा भएको हो । काठमाडौंको मुलपानीमा मेडिकल सञ्चालन गर्ने उनलाई एक पारिवारिक घटनाले दोलखा पुर्‍यायो । उनी विगत १६ वर्षदेखि भैंसेमा बसी गाउँलेको सेवा गर्न थाले । उनी चिकित्सक डाक्टर भने होइनन् । औषधी बिक्री गर्ने लाइसेन्स प्राप्त गरेका उनले दोलखामा भाइ बुहारी सुत्केरी हुँदा औषधी नपाएर छटपटिएको घटनापछि गाउँमै मेडिकल खोल्ने निधो गरे ।

गाउँपालिका अध्यक्ष दुलाल

‘१६ वर्ष अगाडि भाइ बुहारीका लागि सुत्केरी गराउने औषधी बोकर मोटरसाइकलमा यहाँ आउँदा बाटोभरी गाउँले लाइन लागेर उभिएको देँखे,’ उनले विगत सम्झँदै भने, ‘म त मलाई पिट्न पो लाइन लागेका होलान भन्ने सोचेर डराए, तर होइन रहेछ, बाइक हेर्ने लाइन रहेछ ।’ १६ वर्ष अगाडिको त्यो भैसे सम्झँदै उनले अगाडि थपे, ‘मैले काठमाडौंबाट औषधी ल्याएर दिएपछि जन्माएको छोरो अहिले १६ वर्ष पुग्यो ।’ उनै भोजराज सरलाई गाउँलेले डाक्टरको उपाधि दिए । उनलाई गाउँको मायाले आकषिर्त गर्‍यो । त्यसपछि उनी दोलखा नै बसेर सेवा गर्न थाले । हामी पुगेको दोस्रो दिन लोकल खसी काटेर तयार पार्दापार्दै भोजराज सरलाई फोन आयो । ‘भैंसेमा एक युवा बिरामी भए, तुरुन्त आउनुपर्‍यो ।’ भोजराज सरले तुरुन्तै काम छाडेर मोटरसाइकल स्टार्ट गरेर हुँइकिए ।

यी नै भोजराज सरले एक महिनादेखि आफ्नो घरलाई होमस्टेमा परिणत गरेका छन् । एक पटकमा ५०/६० जनासम्मलाई सेवा दिन सक्ने गरी संरचना बनाएका उनकै होमस्टेमा शनिबार हाम्रो यात्रा टुंगियो । यात्रामा अध्यक्ष दुलालले  गज्जबको सहजीकरण गरे ।

लोकल भाले र कोदाको ढिँडोले स्वागत

होमस्टे ओर्लनासाथ स्थानीय १३ प्रकारका जडिबुटी मिलाएर बनाएको लोकल चियाले स्वागत गरियो । जसमा चियापत्ति राखिएको थिएन । चियाको साथमा भुटेको मकै र भट्टमास आयो । घरको आडमा रहेको फराकिलो स्थानमा मुडा जोरजाम गरी आगो बालियो ।

त्यसपछि भोजराज सरकै बारीमा फलेको आलु आगोको भूंग्रोमा हालियो । लेकाली आलु, भूटेका मकै र जडिबुटीको चियासँगै आगोको रापमा सेकिँदा दिनभरको थकान मेटिइसकेको थियो । साँझको खानाका रुपमा लोकल भालेको परिकार बनेको जानकारी दिइयो ।

खानामा भने छनोटको अवसर थियो । भात खाने की ढिँडो ? बहुमत कोदोको ढिँडोमा भयो । यद्दपी भात पनि पाकेको थियो । यसरी पहिलो दिनको कार्यक्रम समाप्त भयो ।

सनराइज अवलोकन र शैलुङको यात्रा

दोस्रो दिन एकाबिहानै भालेको डाकोसँगै टोली सूर्योदयको दृष्यावलोकनका लागि आतुर थियो । सामुन्ने उभिएको गौरी शंकरकै आडबाट सूर्य उदाउने र यसको पहिलो झल्को हेर्न टोली भैंसे बजार नजिकै रहेको टावरमा उक्लियो । पूर्वि भेगमा अटल रुपमा उभिएका हिमाललाई राताम्य बनाउँदै घाम झुल्किए ।

फोटो पत्रकारका लेन्सलाई यो दृष्य कैद गर्न भ्याइनभ्याइ थियो । सूर्योदयपछि बिहानको खाना खाएर यस यात्राको सबैभन्दा आकर्षण शैलुङ यात्रा सुरु भयो । भैसेबाट पुनः कच्ची सडकबाट गाडी शैलुङ डाँडातर्फ उकालो लागे । बाटो उस्तै कठिन थियो । सल्लाघारी र गुँरासले घेरिएको घना जंगल हुँदै गाडी अगाडि बढे ।

गाडीको यात्रा भैंसेबाट कालापानी पुगेर रोकियो । २८ सय मिटर उचाईमा रहेको कालापानी शैलुङको बेसक्याम्प हो । अहिले यहाँ धमाधम पर्यटकीय पूर्वाधार बनिरहेका छन् । एक सामुदायिक भवनको निर्माण सकिएको छ । जसलाई शैलुङ यात्रामा जाने यात्रुलाई निश्चित शूल्क तिरेर प्रयोग गर्न दिने तयारी छ । प्रदेश पर्यटन बोर्डले करिब ४ करोड रुपैयाँ लगानी गरी सूचना केन्द्र भवन समेत बनाइरहेको छ । सार्वजनिक शौचालयसमेत निर्माण सम्पन्न भएको छ । ‘अबको दुई वर्ष भित्र हामी यो ठाउँलाई एक सुविधा सम्पन्न स्थान बनाउँछौं,’ शैलुङ गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीले भने ।

शैलुङ यात्रामा हाम्रो टोलीका लागि गाइड नै बनेर उकालो लागे उप्रेती र वडा नं ३ का वडाअध्यक्ष धु्रव श्रेष्ठ । साथमा थिए अनुभवी टे्रकिङ गाइड सोनाम शेर्पा । कालापानीबाट एक घण्टा जंगलको बीचमा बनाइएको पदयात्रा मार्ग पच्छ्याएपछि टेकियो शैलुङको पहिलो थुम्का । भगवान शिवको विशाल त्रिशुल राखिएको यो चुचुरोको फेदीबाट हामी शैलुङ्गेश्वर महादेवको दर्शन गर्न ओरालो झर्‍यौं । शैलुङ्गेश्वर महादेव रहेको गुफाबाट अझ ओरालो लागेपछि भेटियो १२ वर्षमा एक पटक खुल्ने गदौरी गुफा । अन्य स-साना धार्मिक क्षेत्रको अवलोकन गर्दै हामी लाग्यौं शैलुङको उचाईतर्फ । शैलुङको सबैभन्दा उच्च बिन्दु महाभारत पर्वतको समेत सबैभन्दा अग्लो चुचुरो हो ।

सामुन्नेमा गौरिशंकर, द्यौलागिरि, लाङटाङसहित करीव ३६० डिग्रीमै देख्न सकिने हिमऋङ्खलालाई धित मरुन्जेल हेर्न यो भन्दा उपयुक्त गन्तब्य अर्को हुन सक्दैन । भाग्यवशः आइतबार मौसम सफा भयो । यस्तो लाग्थ्यो, हाम्रै स्वागतका लागि हिमाल लामवद्ध भएर मुस्कुराइरहेका छन् । शैलुङबाट खुलेका हिमाललाई एक-एक गरेर ट्रेकिङ गाइड शेर्पाले हामीलाई जानकारी गराए । यहाँबाट काठमाडौंको शिवपुरी डाँडादेखि महाभारत क्षेत्रका सबैजसो क्षेत्र देख्न सकिन्छ ।

महाभारतको सबैभन्दा अग्लो चूचूरोमा पर्यटन विभागले भ्यूटावर बनाएको रहेछ । यो टावरप्रति भने स्थानीय जनप्रतिनिधि नै सन्तुष्ट देखिएनन् । ‘यति अग्लो डाँडा आफैंमा भ्यूटावर हो,’ वडाध्यक्ष उप्रेतीले भने, ‘भ्यूटावरले अग्लो चूचुरो नै कुरुप बनायो ।’ स्थानीय तहसँग बिना समन्वय निर्माण भएको भ्यूटावरलाई स्थानीय तहले अपनत्व लिन नसक्दा यो संरचनाका नाममा करोडौं रुपैयाँ खेर गएको अनुभूति भयो । किनकी संरक्षणको अभावले भ्युटावरमा मानव मलमुत्र मात्र भेटियो । उत्साहका साथ भ्युटावर चढेका हामीलाई यो दृष्यले भने खिन्न बनायो ।

दुई जिल्लाबीच स्वामित्वको विवाद

स्थानीय तामाङ भाषामा शैलुङ अर्थात् सय थुम्का । शैलुङलाई रामेछापले पनि आफ्नो मान्छ । दोलखालाई त सरकारले नै मान्यता दिएको छ । शैलुङको मूख्य चूचुरोतर्फको आधा भाग रामेछाप र आधा भाग दोलखातर्फ पर्ने रहेछ । तर, दोलखामा गाउँपालिकाको नाम नै शैलुङबाट राखिएको छ । पर्यटन विभागले भ्युटावर निर्माण गरी हस्तान्तरण समेत यसै गाउँपालिकालाई गरेको थियो । ‘शैलुङका सबैजसो थुम्का दोलखातर्फ पर्छन्,’ वडाअध्यक्ष उप्रेती भन्छन्, ‘हामीसँग केन्द्र सरकारका आधिकारिक प्रमाण छन् ।’ नापी विभागले राखेको नापजाँच विन्दुसमेत यसै चुचुरोमा रहेको छ ।

यद्दपी पछिल्लो समय आ-आफ्नो क्षेत्रबाट पर्यटक आकषिर्त गर्न प्याकेज बनाउने र पूर्वाधार बनाउने होडबाजी चलेको छ । रामेछापतर्फ दोरम्बा हुँदै पनि शैलुङ जान सकिन्छ । यहाँबाट चुचुरोको निकै नजिकै गाडी पुग्छ । त्यहाँबाट शैलुङका अन्य धार्मिक तथा आकर्षण स्थान पुग्न पुनः ओरालो झर्नुपर्छ । यसलाई दोलखालीले उल्टो यात्रा मान्छन् । ‘फेदीबाट चुचुरो चढ्ने की सिधै चुचुरो पुग्ने भन्ने हो,’ वडाध्यक्ष उप्रेती भन्छन्, त्यसकारण हामी पर्यटकलाई दोलखाबाट आकषिर्त गर्न चाहेका हौं ।’ दुई जिल्लाको होडबाजीले अन्ततः यात्रुलाई सुविधा पुग्नेमा भने दुईमत छैन ।

सम्भावनालाई कहिले यथार्थमा बदल्ने ?

शैलुङका एक सय थुम्काले मौसमपिच्छे रंग बदल्छन् । हिउँदमा सुख्खा र फुरुङ्ग देखिने यी थुम्का अब केही दिनमै सेताम्मे हुनेछन् । गाउँपालिका अध्यक्ष दुलाल पर्यटकलाई निम्ता दिँदै भन्छन्, ‘हिउँ खेल्न हिउँ-हिउँमै महासागरमा किन नआउने ?’ ३१५० मिटर अग्लो चुचुरोमा जब हिउँ पर्छ, तब सबै थुम्का सेताम्य हुन्छन् । शैलुङका चुचुरोमा रुख विरुवा छैनन् । त्यसकारण यहाँ ‘स्नोस्की’को सम्भावना छ । तर, सडक र आतिथ्य सेवामा पूर्वाधारको अभावले सौखिन पर्यटकलाई यहाँसम्म लैजान सकिएको छैन । शैलुङको सामुन्ने उभिएको अर्को डाँडो कालिन्चोकमा हिँउ परेपछि थामिनक्नु भिड हुन्छ । यसका पछाडि बेस क्याम्प कुरी बजारमा भएको सुविधा मूख्य कारण हो । ठूलो सम्भावना बोकेर पनि शैलुङ भने अहिले पनि पर्यटकको पर्खाईमा रहेको छ ।

शैलुङ जाने हो ?

 

यहाँ हामीले कुन्त्ती मोक्तानले भनेझै चौरी चराउनेहरुको खोजी गरेका थियौं । तर, घट्दो तापक्रमका कारण चौरी गोठहरु बेसीमा झरिसकेका रहेछन् । शैलुङमा यस पटक चौरी चराउनेहरु भने भेटिएनन् । यसरी शैलुङमा आइतबार करिब दिनभर बिताएपछि हामी पुनः गाउँका प्यारा डाक्टर भोजराज सरको होमस्टेमा ओर्लियौं ।सोमबार साँझ लोकल खसीको परिकारसँगै होमस्टेले न्यायो स्वागत दियो । सोमबार बिहानै हामी कर्मथलो काठमाडौं फिर्ता भयौं । भैसे भन्ने स्थानमा उक्त होमस्टबाहेक अन्य केही होटेल समेत छन् । यहाँ खानाको मूल्य लिएपछि सस्तो मूल्यमा सुत्ने कोठा उपलब्ध गराइन्छ । मूल्यका हिसावले होटेल र होमस्टेको बसाई कालिञ्चोकको तुलनामा सस्तो पर्ने स्थानीयले जानकारी दिए ।

भैंसेसम्म काठमाडौंबाट नै सार्वजनिक बस चल्छ । आफ्नो सवारी नलिई सार्वजनिक बसमा जानेले भने भैंसेबाटै पदयात्रा गर्नुपर्छ । यसका लागि कम्तिमा एक दिन -६-८ घण्टा) पदयात्रा गरेपछि मात्र शैलुङ पुग्न सकिन्छ । आफ्नो सवारी लिएर जाँदा भने कालापानीसम्म सडक यात्रा पछि एक घण्टाको पैदल यात्रामै शैलुङ पुगिन्छ । हिँउ परेको बेला वा पानी परेको बेला कच्ची बाटोमा हिलो बढ्ने भएकाले गाडी र दुई पांग्रे सवारी फस्ने सम्भावना हुन्छ । यस्तो बेला पदयात्रा उपयुक्त हुन्छ । पदयात्रामा जाँदा कालापानीमा बस्ने-खाने उपयुक्त सुविधा नभएका कारण स्लिपिङ ब्याग र तयारी खाना बोक्नु उपयुक्त हुन्छ । चाहे जाडो मौसम, चाहे गर्मी शैलुङ जाँदा न्यानो कपडा भने बोक्नु नर्बिसनुस है !


तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment