
२३ पुस, विराटनगर । प्रदेश १ का नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बिहीबार विराटनगरमा बृहत्त नागरिक समाजले आयोजना गरेको अन्तर्क्रियामा सहभागी प्रध्यापक, कानुन व्यवसायी, पत्रकार र अधिकारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनको कदम सच्याउन आग्रह गरेका हुन् ।
उनीहरुले संविधान विपरीतको कदमलाई स्वीकार्न नसकिने पनि बताए ।
वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार दुरुपयोग गरेर संविधानलाई घाइते बनाएको बताए । अधिवक्ता उमेश न्यौपानले शक्तिको आडमा संविधान मिच्ने काम भएको बताए ।
प्राध्यापक प्रमोदकुमार झाले संसद् विघटनको कदम व्यक्तिगत महत्वाकांक्षा र सत्ता लोलुपताको निरंकुश प्रवृत्ति भएको बताए ।
जनता समाजबादीका नेता रामरिझन यादवले असंबैधानिक कदम सच्याउन ढिला भए देशमा हिटलर प्रवृत्ति बढेर जाने बताए ।
समाजशास्त्री डा. गणेश क्षेत्रीले जनघाती कार्यको विरोधमा आवश्यक परे संयुक्त्त जनआन्दोलनका लागि पनि तयार हुनु आग्रह गरे । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले लोकतन्त्र र विधिको शासनका लागि पत्रकार महासंघले नागरिक आन्दोलनमा सधैं साथ दिने बताए ।
मानव अधिकारकर्मी सोमराज थापाले प्रधानमन्त्रीको कदम असंबैधानिक भएकाले सच्याउनुपर्ने बताए । साहित्यकार कविराज न्यौपाने, वुद्धिजीवि त्रिलोक न्यौपाने, यदु विष्टलगायतले सरकारको कदम असंवैधानिक भएकाले सच्याउन आग्रह गरे ।
प्रतिक्रिया 4