Comments Add Comment

हेगको धम्की नदेऊ : रावल

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पूर्वमाओवादी नेताहरुलाई ‘हेग’ पुर्‍याउने धम्की नदिन चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अछाम–काठमाडौं सम्पर्क मञ्चको भेलामा नेता रावलले द्वन्द्वकालीन विषय उछालेर कार्यकर्ताको भावना भड्काउने दुस्प्रयत्न नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘तत्कालीन माओवादीमा काम गर्ने सबै योद्धा साथीहरुलाई हेगमा पुर्‍याउनुपर्छ भन्ने लाग्या हो भने उनीहरुलाई भन्दा पहिला केपी ओलीलाई हेग पुर्‍याउनुपर्छ’ नेता रावलले भने ।

‘किन भन्नुहोला, हेग पुर्‍याउनुपर्छ भनिएमा व्यक्तिसँग सहमत गरेर आउने, शान्ति प्रक्रियामा ल्याउनुपर्छ भनेर कागजपत्रमा हस्ताक्षर गर्ने केपी शर्मा ओलीलाई पहिला हेग पुर्‍याएपछि मात्रै अरुलाई पुर्‍याउनु पर्‍यो कि परेन ?’ रावलले प्रष्टीकरण दिए ।

उनले प्रधानमन्त्री ओलीलाई साच्चिकै माओवादीले १७ हजार मान्छे मारेको, अपराध गरेको भन्ने लागेको भए शान्ति प्रक्रियामा आउँदा कागजपत्रमा किन हस्ताक्षर गरेको ? त्यहि माओवादीसँग किन पार्टी एकता गरेको भनेर प्रश्न गरेका छन् ।

उनले अघि भने, ‘केपी ओली र उनका मतियारहरु कथित साइबर सेनाको आशय द्वन्द्वकालका सबैलाई हेगमा पुर्‍याउने हो भने म चुनौती दिन्छु नेपाली सेनामा एकीकृत भएका माओवादीका पूर्वलडाकूहरुलाई निस्काशित गर्नुस् । तिनीहरु सबलाई गिरफ्तार गरियोस् । तागत छ ?’

पूर्व एमाले र माओवादीहरु आफ्नो समूहमा आइहाल्छन् कि भनेर झुटा प्रचार गरिएको उनको दाबी छ । ‘मानिसहरुको भावना भड्काएर देशको प्रधानमन्त्रीले यस्ता (हेग पुर्‍याउने) कुरा गर्नु लज्जास्पद हो । यो देशलाई विग्रहमा पुर्‍याउने भनाइ हो’ प्रचण्ड–माधव समूहका नेता रावलले भने, ‘यसको कुनै अर्थ छैन । त्यहाँ कसले कसलाई के गर्‍यो भन्ने हिसावकिताब सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्छ । शान्ति प्रक्रियाका कामहरु अगाडि बढेका छन् ।’

अघि भने, ‘आज एमाले र माओवादी होइन नेकपा छ र हामी जनताको जनवादमा हिँडिरहेका छौं ।’

यो पनि पढ्नुस् 

ओलीलाई रावलको जवाफ : भगौडा नम्बर एक तपाईँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment