Comments Add Comment

कोरोनाले रोकेन बैंकको शाखा विस्तार

२५ पुस, काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले लगाएको लकडाउनका कारण अन्य क्षेत्रझैं बैंक र वित्तीय क्षेत्र पनि नराम्रोसँग प्रभावित भयो ।

अन्य क्षेत्रसँगको तुलनामा यस क्षेत्रमा कार्यरत धेरै संक्रमित भए । तर यस अवधीमा बैंक तथा वित्तीय संस्थाले कोरोनाकालमै शाखा सञ्जाल राम्रै विस्तार गरेका छन् ।

लकडाउन शुरु भएयता बैंक तथा वित्तीय संस्थाले देशभर मंसिर मसान्तसम्ममात्रै करिब २ सय शाखा सञ्जाल विस्तार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जाल अहिले ५ हजार ८ सय ७० पुगेको छ ।

यसमा वाणिज्य बैंक, विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमात्रै समावेश छन् । लघुवित्तहरुको तथ्यांक भने यहाँ समावेश छैन ।

कोरोना संक्रमण फैलन नदिन सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको थियो । लकडाउन हुनुभन्दा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जाल ५ हजार ६ सय ७१ थियो ।

यो संख्या मंसिर मसान्तसम्म आइपुग्दा २ सय ९९ ले बढेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार लकडाउन अघि वाणिज्य बैंकहरुका ४ हजार २ सय १९ वटा शाखा सञ्जाल रहेकोमा ४ हजार ५ सय ८५ पुगेका छन् ।

विकास बैंकका भने घटे

लकडाउन शुरु भएयता मंसिर मसान्तकै कुरा गर्ने हो भने विकास बैंकहरुका शाखा संख्या भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कतिपय विकास बैंकहरु ‘क’ वर्गका वाणिज्य बैंकमा गाभिएका र कतिपय विकास बैंकहरु नै एकापसमा गाभिदा पनि त्यसको असर परेको राष्ट्र बैंक बताउँछ ।

वाणिज्य बैंकमा गाभिएको अवस्थामा ती शाखाहरु स्वतः वाणिज्य बैंकको हुने र विकास बैंक एकअर्कामा गाभिदा शाखासमेत गाभ्नु पर्ने हुन्छ । जसको कारण संख्या कम देखिएको हो ।

यस अवधिमा ‘ख’ वर्गका विकास बैंकहरुको शाखा १ हजार २ सय १३ बाट घटेर १ हजार ३२ मा झरेको छ । उता ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुको संख्या भने बढेकै छ । लकडाउन हुनुभन्दा अगाडि फाइनान्स कम्पनीहरुको संख्या २ सय ३९ रहेको थियो । मंसिर मसान्तसम्म आइपुग्दा यो संख्या बढेर २ सय ५३ पुगेको छ ।

कुन प्रदेशमा कति शाखा ?

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या सहरी क्षेत्रमा नै धेरै देखिएको छ । सहरी क्षेत्रमा जनसंख्या धेरै हुने र बैंकिङ कारोबार पनि राम्रै हुने भएका कारण बैंकहरुले पहाडी क्षेत्रलाई अलि कम प्राथमिकतामा राखेको देखिन्छ ।

यद्यपि, पछिल्लो समय भने बैंकहरुले घाटामै भए पनि विकट क्षेत्रमा समेत शाखा खोलेर सेवा दिइरहेका छन् । राष्ट्र बैंकका अनुसार धेरै शाखा सञ्जाल बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएका छन् ।

प्रदेश १ मा बैंकका शाखा संख्या ९११ छ । जसमा ‘क’ वर्गका ६९७, ‘ख’ वर्गका १६८ र ‘ग’ वर्गका ४६ रहेका छन् । प्रदेश २ मा वाणिज्य बैंकका ५२९ विकास बैंकका ७३ र फाइनान्स कम्पनीका ३३ गरी गरी ६३५ वटा शाखा रहेका छन् भने वागमती प्रदेशमा वाणिज्य बैंकका १ हजार ६०६, विकास बैंकका २८५ र फाइनान्स कम्पनीका ९६ गरी कूल शाखा संख्या १ हजार ९ सय ८७ रहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा वाणिज्य बैंकका ५ सय ७३, विकास बैंकका १८१ र फाइनान्स कम्पनीका ३० गरी ७८४ रहेका छन् भने लुम्बिनीमा वाणिज्य बैंकका ६७५, विकास बैंकका २६७ र फाइनान्स कम्पनीका ३८ गरी ९८० वटा शाखा सञ्जाल रहेका छन् ।

सबैभन्दा कम शाखा सञ्जाल देखिएको कर्णालीमा वाणिज्य बैंकका १ सय ८८, विकास बैंकका १७ र फाइनान्स कम्पनीका ४ वटा गरी २०९ वटामात्रै शाखा सञ्जाल रहेका छन् । उता सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१७, विकास बैंकका ४१ र फाइनान्स कम्पनीका ६ वटा गरी कूल ३६४ वटा शाखा सञ्जाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment