२६ पुस, काठमाडौं । पुनर्निर्माण सकिएर पुरानो स्वरुपमा फर्किएको रानीपोखरी यतिबेला हरियो लेउ र झ्याउले ढाकिएको छ । प्राकृतिक भए पनि पोखरीको सौन्दर्यतामा पानीमाथि ढाकिएको लेउले असर पुर्याएको निष्कर्ष पुनर्निमाण प्राधिकरणको छ । तर, यसलाई सफा कसरी गर्ने भन्नेमा प्राधिकरण आफैं अलमलमा छ ।
प्राधिकरणले यसमा लेउ मार्ने विषादी प्रयोग गर्ने विकल्पमा पनि छलफल नगरेको हैन, तर, रसायन प्रयोग गर्दा पोखरीको जैविक पक्ष पनि विचलित हुने भएपछि प्राधिकरणले विकल्पबारे छलफल भइरहेको बताएको छ । केही दिनअघि प्राधिकरणले यसबारे विज्ञहरुसँग पनि छलफल गरेको थियो ।
पानी शुद्धीकरणमा काम गरेका विज्ञहरुले जापान लगायतका मुलुकमा प्रयोगमा रहेको पोखरीभित्रको जैविक पक्ष नखल्बिने खालको रासायनिक ‘सोलुसन’ प्रयोग गर्न पनि सुझाएका छन् । तर, विरोध हुने डरले प्राधिकरणले यसबारे निर्णय लिन सकेको छैन ।
सम्भवतः केही दिनमा प्राधिरकणले लेउ घटाउन पोखरीका विभिन्न भागमा पम्पको प्रयोग सुरु गर्नेछ । पोखरीमा राखिने ती विद्युतीय पम्पले एक भागको पानीलाई अर्को भागमा पठाउनेछन् । र, पोखरीको पानीलाई चलायमान गराउनेछन् ।
प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर विभिन्न विकल्पमाथि छलफल गर्दा पम्पको प्रयोग गर्नु नै उपयुक्त हुने देखिएको बताउँछन् । ‘निर्णय हुन बाँकी छ, तर हामीसँग अहिले पम्प चलाउनुको विकल्प छैन्,’ उनी भन्छन् ।
पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ । यसका कारण लेउ उम्रन पनि पाउँदैन । माछाले पनि सबै लेउ नखाने भएकाले कसरी रानीपोखरीलाई सफा र सुन्दर राख्ने भन्ने चुनौती थपिएको मानन्धर बताउँछन् ।
पोखरीमा अहिलेसम्म पानी बाहिर जाने आउटलेट पनि छैन । भविष्यमा आउट लेट नभएका कारण पोखरीको जैविक पक्ष थप खल्बलिने तर्क सम्पदाविदहरुले गर्दै आएका छन् । त्यसैले प्राधिकरणले त्रिचन्द्र क्याम्पसको सरस्वती सदन र अर्को भवनको बीचभागबाट आउटलेट राख्ने योजना बनाएको छ ।
आउटलेट बनाएर मात्रै समस्या समाधान नहुने भएकाले यसको दीर्घकालीन समाधान खोल्नुपर्ने इन्जिनियर मानन्धर बताउँछन् ।
‘लेउ सफा गर्न डुंगा चलाउँदा पवित्र तीर्थस्थलमा त्यो नगर्न स्थानीय र सम्पदा अभियन्ताले अनुरोध गर्नुभयो,’ उनी भन्छन्,’अब कसरी रानीपोखरीलाई सफा राख्ने भन्ने चुनौति छ ।’
पुरातत्व विभागका पूर्वमहानिर्देशक तथा रानीपोखरी पुनर्निर्माणको लागि बनेको विज्ञ समूहका संयोजक रहेका विष्णुराज कार्की पानी शद्धीकरणको लागि सम्बन्धित क्षेत्रका विज्ञबाटै समाधान खोज्नुपर्ने बताउँछन् ।
‘जसरी पोखरी बनाइको छ, त्यसमा त्यतिधेरै लेउ र झयाउ नआउनुपर्ने हो, पोखरीलाई भर्दा फोहोर पानी हालियो कि भन्ने लाग्छ,’ उनी भन्छन्,’एकपटक पोखरीको अहिलेको पानी हटाएर ताजा र सफा खानेपानी हालेर हेर्नुपर्छ ।’
उनले समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै पोखरीमा लेउ र झ्याउ सफा गर्न डुंगा चलाउँदा स्थानीयले विरोध गर्नु सान्दर्भिक नहुने बताए ।
‘व्यवसायिक रुपमा डुंगा चलाइयो भने त्यसको विरोध हुनुपर्छ,’ उनी भन्छन्,’सरसफाइको पवित्र उद्देश्यका साथ डुंगा चलाउँदा विरोध गर्न तार्किक हुन्न ।’
बाहिर संरचनाका लागि ठेक्का लाग्दै
पोखरीको व्यवस्थापन गर्न समस्यामा परेको प्राधिकरणले शान्तिबाटिका क्षेत्रलाई व्यवस्थित गर्न भन्दै थप १० करोड बढीको काम गर्ने गरी ठेक्का लगाउने तयारी गरेको छ ।
गणेशमानको शालिक र वरपरको पार्क व्यवस्थापन गर्नेसहित रानीपोखरीमा आउनेका लागि शौचालयसहितको सेवा केन्द्र सञ्चालनमा ल्याउनका लागि आवश्यक निर्माणको काम गर्न लागिएको हो ।
प्राधिकरणले त्यहाँ कस्ता संरचनाहरु बन्छ भन्ने खुलाएको छैन । ‘त्यहाँ प्रिफ्याब संरचनाहरु बन्छन्,’इन्जिनियर शाक्य भन्छन्,’रानीपोखरीमा आउने पर्यटकको कन्ट्रोल सेन्टर बनाउने गरी काम हुन्छ, बाहिर पार्क पनि व्यवस्थित गरिनेछ ।’
रानीपोखरीको संरक्षण गर्न आवश्यक स्रोतको जोहो गर्न सक्ने गरी संरचना तयार गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने मानन्धरले बताए ।
सो कन्ट्रोल सेन्टरभित्र के-के राख्ने भन्ने निर्णय महानगरपालिकाको नै हुने प्राधिकरणले बताएको छ ।
तस्वीरहरु : आर्यन धिमाल /अनलाइनखबर