Comments Add Comment

चार टेलिभिजनबाट पल्सर स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण हुने

२७ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ ।

कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने एनएसजेएफले जनाएको छ ।

यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । यस्तै त्रिपुरेश्वरस्थिति वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ भने कार्यक्रमका अन्य निम्तालु हरु भने जुममार्फत जोडिनेछन् ।

कोभिड-१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुनेछ । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ ।

यसअघि हजारौं खेलप्रेमी महानुभावका माझ हुने कार्यक्रम सीमित व्यक्तित्वको उपस्थितिमा आयोजना हुदैछ । कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ ।

अवार्ड मंगलबार (पुस २८ गते) ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ ।

नेपालमै पहिलो पटक हुन लागेको भर्चुअल रूपको यस किसिमको अवार्ड कार्यक्रम मञ्चले इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राति १२ बजेसम्म मात्र ई-सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहनेछ । आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत प्राप्त भइसकेको छ ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान कार्यक्रमकै दिन घोषणा गरिने परम्परा छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने कार्यक्रमको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ-सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment