Comments Add Comment

यी अनुहार, जसको करिअर टिकटकले बदल्यो

डिजिटल दुनियाँको परिवर्तन निकै द्रुत गतीमा छ । सामाजिक संजालमा हिरो भएर जिरो हुनेहरु पनि उत्तिकै छन् भने जिरोबाट हिरो हुनेहरुको संख्या पनि लोभलाग्दो नै छ । पछिल्लो केही बर्षयता नेपालमा टिकटक एप चर्चित छ । यसले मानिसहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको छ । टिकटकबाट उदाउँदै म्यूजिक भिडियो, सिरियलमा काम गर्नेहरु पनि बढ्दै गएका छन् ।

लकडाउनयता नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यो भेलमा थुप्रै प्रतिभाहरु मिसिए । जसमध्ये टिकटकबाट उदाएका प्रतिभाहरु धेरै छन् । जसमा कोही यो भेलसँग बगेर हराए त कोही स्थापित हुने क्रममा छन् ।

टिकटकबाट उदाएर म्यूजिक भिडियोमा राम्रो सफलता पाएका एक प्रतिभा हुन्, सुधिर श्रेष्ठ । सुधिरले छ महिनाअघि ‘ए है माया’बोलको गीतमा अभिनयको अवसर पाए । त्यसपछि उनले चार दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

‘सुनन पियारी’, ‘कुरा काट्ने मान्छेले’, ‘माया गरौंला’, ‘नबोली नबोली’ सुधिरका रुचाइएका भिडियोहरु हुन् । सुधिरले श्रीमती रोशनी श्रेष्ठसँगको सहकार्यमा टिकटकमा छोटो नृत्य र अभिनयको भिडियो पोष्ट गर्ने गर्थे ।

उनीहरुले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठका चलचित्रका गीतमा गर्ने छोटो नृत्यलाई टिकटकमा धेरैले रुचाए । त्यहीबाट सुधिर धेरैको नजरमा परे र म्युजिक भिडियोमा अवसर पाए । अहिले उनी म्युजिक भिडियोमा ब्यस्त छन् । सुधिरलाई टिकटकमा ५ लाख १७ हजार बढीले फलो गरेका छन् । टिकटकमा उनको भिडियोलाई लाइक गर्नेको संख्या ३ करोड ४३ लाख बढी छ ।

टिकटकबाट म्यूजिक भिडियोमा उदाउने प्रतिभामा प्रिज्मा–प्रिन्सी खतिवडा पनि पर्छन् । जुम्ल्याहा दिदीबहिनी जोडी प्रिज्मा र प्रिन्सीले टिकटकमा ‘ट्विनी गल्र्स’ नामबाट लाखौं फ्लोअर्स कमाएका छन् ।

यी दुई डेढ वर्षअघि ‘हाम्रो माया जिन्दावाद’बाट म्युजिक भिडियोमा उदाएका हुन् । हालसम्म आउँदा डेढ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् । ‘झुमा झुमा’, ‘हाम्रो माया जिन्दावाद’, ‘बाजा बजाउँदै’ ‘यस्तो बनोस् मेरो तिज’, ‘तिम्रै मायाले’ उनीहरुले अभिनय गरेका चर्चित म्युजिक भिडियो हुन् ।

यी दिदीबहिनीलाई टिकटकमा हालसम्म ६७ लाखले पछ्याएका छन् । पाँच करोड ९२ लाख बढी लाइक उनीहरुले पाएका छन् । रेश्मा घिमिरे टिकटकबाट म्युजिक भिडियोमा छाएकी हुन् । पहिले चलचित्रमा अभिनय गरेपछि नोटिस हुन नसकेकी रेश्मा पछि टिकटकबाट चर्चामा आएकी हुन् । ‘टिकटक क्विन’को उपनामले समेत परिचित रेश्मा ‘इन्स्टाको फोटो’, ‘कल्लाई थाहा छैन’, ‘निदाउँ के सपनीमा’, ‘छमछम पाउजु’लगायतका गीतमा अभिनय गरेकी छिन् ।

रेश्मालाई टिकटकमा १२ लाख बढीले फलो गरेका छन् भने २ करोड ९४ लाख लाइक उनका भिडियोले पाएका छन् । जुम्ल्याहा दिदी–बहिनी दीपा र दमन्ता श्रेष्ठ पनि टिकटकबाटै म्युजिक भिडियोमा उदाएका हुन् । टिकटकमा ‘दीपादमन्ता’ नामबाट चर्चित उनीहरुलाई २५ लाख बढीले पछ्याएका छन् । उनीहरुलाई टिकटकमा चार करोड २६ लाख लाइक मिलेको छ । उनीहरुले ‘अमिलो निमुवा’, ‘दिल खोलेर भन’, ‘पारै मिलेन’ लगायतका गीतमा अभिनय गरेका छन् ।

मन्जिल बस्नेत पनि टिकटकबाटै म्युजिक भिडियोमा उदाएका हुन् । ‘रनभुल’, ‘तरकारी’ ‘घाममा सुकाइदेउ’, ‘हुन्छ खोसाखोस’ लगायतका भिडियोमा मञ्जिलको अभिनय हेर्न सकिन्छ ।

गरिमा शर्मा टिकटकबाटै उदाएकी हुन् । उनले ‘नबोली नबोली’बोलको गीतबाट दर्शकको मन जितेकी छिन ्। गरिमाले एक दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । उनलाई टिकटकमा ३ लाख ४० हजारले पछ्याएका छन् ।

उषा उप्रेती पनि टिकटकबाट म्युजिक भिडियोमा उदाएकी मोडल हुन् । उनले एक दर्जन बढी भिडियोमा काम गरिसकेकी छिन् । उनको अभिनय रहेको ‘घरमा कोही नहुँदा’बोलको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । उनलाई टिकटकमा १० लाखले पछ्याएका छन् ।

गीता ढुंगानाले पछिल्लो समय लगातार म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । उनीपनि टिकटककै कारण म्युजिक भिडियोमा उदाएकी हुन् । ‘ओए काजल’ बोलको गीतबाट म्युजिक भिडियोमा चर्चा पाएकी गीताले ३ दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी छिन् । उनलाई ४ लाख ६८ हजारले टिकटकमा पछ्याएका छन् ।

टिकटकमा राम्रो फलोअर्स कमाएकी श्रेया सिटौला पनि म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । ४ महिना अघि ‘मुखियाकी छोरी’बाट म्युजिक भिडियोमा उनले काम सुरु गरेकी थिइन् । उनले करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

स्मारिका–सामारिका ढकाल टिकटकबाटै म्युजिक भिडियोमा उदाए । जुम्ल्याहा दिदीबहिनीले केही म्युजिक भिडियोमा सँगै काम गरेका छन् । ‘चिनो मायालाई जाली रुमाल’, ‘माया जालैमा’, ‘माया लाउन म सँग’, ‘आँखैमा पियार मनमा तिर्सना’ लगायतका भिडियोमा यी दिदिबहिनीले अभिनय गरेका छन् । टिकटकमा सक्रिय अमृत–अमर दाहाल पनि म्युजिक भिडियोमा उदाएका छन् ।

अहिले प्रकाश चन्द, विजय पुन पनि म्युजिक भिडियोमा उदाएका छन् । उनीहरु पनि टिकटकबाटै दर्शकमाझ परिचित भएका हुन् । उनीहरुको अभिनय रहेको ‘तिम्रै नामको सिन्दुर’ अहिले युटुबको टे«न्डिङमा छ । टिकटकबाट छोटो समयमै म्यूजिक भिडियोमा उदाउनेको संख्या बढ्दै जाँदा भिडियो बजारमा आएर हराउनेहरुको संख्या पनि कम छैन ।

टिकटकबाटै सम्भव भयोः सुधिर श्रेष्ठ
टिकटकबाट उदाएका मोडल सुधिर श्रेष्ठ आज आफूलाई म्यूजिक भिडियोसम्मको यात्रा गर्न टिकटकले नै सहज बनाएको बताउँछन् । दर्शकमाझ छोटो समयमै पुग्ने अवसर पाउने प्लेटफर्मको रुपमा आफूले टिकटकलाई हेरेको उनले बताए । ९ बर्षदेखि यो क्षेत्रमा संघर्षरत सुधिरले केही चलचित्रका गीतमा कोरियोग्राफरको रुपमा काम गरेका थिए । तर, दर्शकमाझ परिचित हुन नसकेका सुधिरलाई टिकटकले परिचित गरायो ।

प्रतिभा भएकाहरु स्थापित हुन्छन्ः बसन्त सापकोटा
संगीतकार बसन्त सापकोटाले पनि केही टिकटकमा प्रतिभाहरुलाई स्थान दिएका छन् । उनले, राम्रो प्रतिभा भएकाहरुलाई म्यूजिक भिडियोमा लिनु नराम्रो नभएको बताए । उनले भने–‘राम्रा–नराम्रा कुराहरु जतापनि हुन्छ । जसले टिकटकमा राम्रो प्रभाव छोडेका छन्, उनीहरुले भिडियोमा पनि राम्रै प्रभाव छाडेका छन् ।’ उनले टिकटकमा फलोअर्स हुँदैमा भिडियोमा लिने गलत भएको बताए । राम्रो प्रतिभा भएका जोकोहीलाई पनि अवसर दिन आवश्यक रहेको बसन्त बताउँछन् ।

प्रस्तुतिः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment