Comments Add Comment

पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा वितरण गरिँदै

२८ पुस, काठमाडौं । नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करण आज हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ आज ललितपुरस्थित कराँते हलमा आयोजना हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई सेमी भर्चुअल रुपमा हुनेछ । भर्चुअलरुपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ । नेपालमै पहिलो पटक हुन लागेको भर्चुअल रूपको यस किसिमको अवार्ड कार्यक्रम मञ्चले इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।

कोभिड-१९ को कारण विशेष स्वास्थ्य मापदण्ड अपनाइने आयोजकले जनाएको छ । यसअघि हजारौं खेलप्रेमी महानुभावका माझ हुने कार्यक्रम यस पटक भने कोभिडका कारण सीमित व्यक्तित्वको उपस्थितिमा आयोजना हुदैछ ।

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ ।

यस्तै एनएसजेएफले आफ्नो स्थापनाको २५औं वर्ष अर्थात रजत जयन्ती पनि यसै वर्ष मनाउँदैछ । २०५२ साल भदौ २५ गते स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गरेको छ ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

अवार्डका लागि वर्ष खेलाडी पुरुष, महिला, युवा, वर्ष प्रशिक्षकसहित पिपल्स च्वाईस विधाकोमनोनयन समेत सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राति १२ बजेसम्म मात्र ई-सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहेको थियो । आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत प्राप्त भइसकेको छ ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, युवा, वर्ष प्रशिक्षकसहितसँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान अवार्ड कार्यक्रममै घोषणा गरिनेछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने कार्यक्रमको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ-सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

पाँच विधामा मनोनयनमा परेका खेलाडीहरु

१. वर्षको उत्कृष्ट पुरुष

मन्डेकाजी श्रेष्ठ (कराँते)
गोपीचन्द्र पार्की (एथलेटिक्स)
कमल श्रेष्ठ (तेक्वान्दो) पुम्से एकल (२४-२९ वर्ष)
सुवास तामाङ (गल्फ)
विकेश कुथु (फुटबल)

२ . वर्षको उत्कृष्ट महिला

गौरिका सिंह (पौडी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
आयषा शाक्य (तेक्वान्दो)
सोनी गुरुङ (ट्रायथलन)
अनु अधिकारी (कराँते)

३, उत्कृष्ट युवा खेलाडी

सुवास तामाङ (गल्फ)
सिना लिम्बु मादेन (तेक्वान्दो)
भुपेन श्रेष्ठ (तेक्वान्दो)
पुनम श्रेष्ठ (जुडो)- ७५ केजी
सञ्जु चौधरी (भारोत्तोलन)

४, उत्कृष्ट प्रशिक्षक

नवीन श्रेष्ठ (तेक्वान्दो)
मदन उप्रेती (कराँते)
अमरकुमार थिङ (उसु)
शंकर कार्की (पौडी)
प्रकाश थापामगर (बक्सिङ)

५, पिपल्स च्वाइस अवार्ड

अरुणा शाही (भलिबल)
गौरिका सिंह (पौडी)
मन्डेकाजी श्रेष्ठ (कराँते)
सदिना श्रेष्ठ (बास्केटबल)
सावित्रा भण्डारी (फुटबल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment