Comments Add Comment

प्रचण्ड र माधव नेपाल भन्छन्– सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ

१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन् ।

माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज संयुक्त शुभकामना सन्देश जारी गर्दै दाहाल र नेपालले भनेका छन्, ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।’

उनीहरुले माघे संक्रान्तिको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आदिवासी जनजातिलगायत सम्पूर्ण जनसमुदायमा अपीलसमेत गरेका छन् ।

उनीहरुले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसंक्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्वक मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment