Comments Add Comment

कर्णालीको समृद्धिको आधार नै जडीबुटी : प्रदेश प्रमुख कलौनी

१ माघ, सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशको समृद्धिको आधार नै जडीबुटी भएको बताएका छन् ।

राष्ट्रिय योग दिवसको अवसरमा वीरेन्द्रनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कलौनीले कर्णालीमा पाइने जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाट नै प्रदेशको आर्थिक समृद्धि हुने बताए ।

योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको र नियमित योगाभ्यास गर्ने बानी सबैमा विकास हुनुपर्ने उनको भनाइ छ ।

कर्णालीमा यार्सागुम्बा, शिलाजित, लेकतितो जस्ता प्रमुख जडीबुटीहरूको, सङ्कलन, प्रशोधन र व्यापारबाट नै प्रदेशको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भन्दै उनले यसमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

योग र ध्यानका लागि नेपाल पवित्र तपोभूमि रहेको भन्दै प्रदेश प्रमुख कलौनीले यही भूमिबाटै ऋषिमुनि तथा वैद्यहरूले जप, तप, ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको इतिहास रहेको बताए ।

योगले शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित योगाभ्यासबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) र अन्य रोगहरू विरुद्ध लड्न मद्धत गर्ने उनको भनाइ छ ।

प्रमुख कलौनीले बिहीबार एक वक्तव्य जारी गर्दै राष्ट्रिय योग दिवससहित थारू समुदायले मनाउने माघी, मगर समुदायले मनाउने माघे सङ्क्रान्ति र अन्य समुदायमा मनाइने मकर सङ्क्रान्तिको समेत शुभकामना व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment