Comments Add Comment

पीएम कपका लागि मन्जितको कप्तानीमा पुलिस टिम घोषणा

गत वर्षको विजेता नेपाल पुलिस टिम

१ माघ, काठमाडौं । माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको लागि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसको टिम घोषणा भएको छ ।

पुलिसले मन्जित श्रेष्ठको कप्तानीमा बिहीबार अन्तिम टोली घोषणा गरेको हो ।

गत वर्ष मन्जितकै कप्तानीमा पुलिसले प्रधानमन्त्री कपको उपाधि जितेको थियो । टिममा गत वर्षकै अधिकांश खेलाडीहरु रहेका छन् ।

पुलिस टिमको अन्य खेलाडीहरुमा दिलिप नाथ, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, प्रेम तामाङ, ललित राजवंशी, सुनिल धमला, अनिल शाह, योगेन्द्र कार्की, रसिद खान, पवन सर्राफ र सागर ढकाल छन् ।

यस्तै प्रशिक्षकमा मनोज कटुवाल छन् भने चित्रबहादुर विष्ट टिम म्यानेजरको भूमिकामा छन् ।

समूह बी मा रहेको पुलिसले माघ ४ गते बागमती प्रदेशसंग खेल्नेछ । बागमतीले प्रारम्भिक सूची सार्वजनिक गरेपनि अन्तिम टोली घोषणा गर्न बाँकी छ ।

माघ २ देखि १७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित कूल १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुनेछ । खेल टीयू मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment