Comments Add Comment

संसद् विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके, डटेर सामना गरौं : रामचन्द्र पौडेल

२ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे ।

‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलले भने ।

सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे । ‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने, आवाज उठाउन सक्यौं भने । यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ’, उनले भने ।

संसद् विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलले बताए । संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उनले बताए । ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ ।

भोलि (शनिबार) कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment